मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आगलागी पीडितको उपचारमा समस्या

आगलागी पीडितको उपचारमा समस्या


फलेवास (पर्वत) । वनमा लागेको आगोले घर वरिपरिको जङ्गल र वन्यजन्तु जलेको देखेर आगो निभाउन गएका यहाँका एक युवा आफँै मृत्युको मुखमा पुगेका छन् । तीन दिनदेखि लागेको आगो स्थानीयवासी र प्रहरीको प्रयासमा नियन्त्रणमा त आयो तर आगो निभाउन गएका घाइते भने अस्पतालमा मृत्यु श्ययामा छट्पटाइरहेका छन् । 
 
पञ्चासे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न जाँदा घाइते बनेका आर्थर डाँडाखर्क–६ घर भई राम्जा देउराली–४ बस्दै आएका रबिन गुरुङ अस्पतालले तोकेको रकम बुझाउन नसक्दा जीवनमरणको दोसाँधमा परेका छन् । वैशाख १५ गते बुधबार दिउँसो आगो निभाउने क्रममा गुरुङ भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए । 
 
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत गुरुङ अस्पतालमा उपचार गर्दा लाग्ने तीन लाख रुपैयाँ बुझाउन नसक्दा जीवनमृत्युको दोसाँधमा पुगेका हुन् । ‘अस्पतालले उपचारका लागि तीनलाख भन्दा बढी लाग्छ भनेको छ’, आमा जालु गुरुङले भनिन्, ‘आफूसँग एक रुपैयाँ छैन, कसरी उपचार गर्ने ?’ आर्थर घर भई राम्जा देउरालीमा अरूको घरको काम गर्दै जीवनयापन गर्दै आएका गुरुङको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । 
 
‘हामीसँग उपचार गर्ने रकम छैन’, घाइतेकी आमा गुरुङले भनिन्, ‘कसैको सहयोग पाएमा छोराको प्राण बचाउन सकिन्थ्यो ।’ उनको उपचारका लागि अहिले तत्कालै टाउकोको शल्यक्रियाका लागि तीन लाख रुपैयाँभन्दा बढी लाग्ने र नियमितरूपमा ६ महिनासम्म उपचार गरिरहनुपर्ने चिकित्सकको भनाइ छ । 
 
स्थानीय समुदाय र प्रहरीका साथमा आगो निभाउन गएका उनी आगो निभाइरहेको अवस्थामा भिरमा लागेको आगोले तातेर पहराबाट ढुङ्गो खसेको स्थानीयवासी बताउँछन् । उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा पठाएको भएपनि आइसियुमा राख्नुपर्ने भएकाले मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।
 
आगो नियन्त्रणका लागि जिल्लाका सबै निकायले सक्रियता देखाएको भएपनि घाइते बनेका उनको उपचारमा भने कसैले चासो देखाएको पाइँदैन । स्थानीय गाविसदेखि जिल्लास्थित कार्यालयमा विभिन्न खालका कोष भए पनि उपचारबाट वञ्चित बन्नुपर्ने अवस्थामा रहेका उनलाई सहयोग गर्ने कसैले तत्परता देखाएका छैनन् । 
 
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले सहयोग गर्न सक्ने भएकाले त्यसका लागि आफूले प्रयास गरेको पर्वतका प्रजिअ झङ्क ढकालले जानकारी दिए । उनका अनुसार प्रकोपपीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०६४ ले विपद्मा परेर घाइते भएकालाई सरकारले अस्पतालमा उपचार गर्दा लागेको रकम र बाटो खर्चबापत लागेको खर्च व्यहोर्ने व्यवस्था भएकाले सहयोग गर्न सकिने ढकालले बताए । 
 
त्यसका लागि आफूले पहल गरिरहेको जानकारी दिए । ढकालले सरकारी अस्पतालमा उपचारका लागि सरकारी व्यवस्था भएको तर उनी निजी अस्पतालमा भएकाले केही समस्या भएपनि त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्ने जानकारी दिए । ‘उनको उपचारमा कुनै कसर बाँकी राख्न हुँदैन’, उनले भने–‘हामी सबै निकायसँग समन्वय गरेर काम गर्ने तयारी गरिरहेका छौँ ।’ रासस