मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फेरि सुरु भयो सत्ताको फोहोरी खेल

फेरि सुरु भयो सत्ताको फोहोरी खेल


हेटौँडा । मुलुकमा नयाँ संविधान बने पनि फेरि सत्ता केन्द्रित फोहोरी खेल सुरु भएको छ । सरकार कसरी ढाल्ने र आफ्नो दल कसरी सत्तामा पुग्ने दाउपेचको जालो फेरि प्रधानमन्त्री केपी ओली सरकारतर्फ फालिएको छ । 
 
नेपाली कांग्रेसमा सभापति निर्वाचन भएपछि शेरबहादुर देउवा भारत गए । भारतबाट फर्केपछि लगत्तै सरकार ढाल्ने प्रपञ्चहरु बुनिन थालियो । देउवाले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड फ्याकेपछि हौसिएर पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा प्रधानमन्त्री बन्ने प्रस्ताव पार्टीको बैठकमा राखे । अनि सुरु भयो सरकार ढाल्ने फोहोरी खेल । ओली सरकारको विकल्प खोज्न कांग्रेस, मधेसी मोर्चा र एमाओवादी लागेका छन् । संविधान बनेपछि नेपाली राजनीति वृत्तमा फेरि सत्ता केन्द्रित फोहोरी खेल दोहोरिएको छ । 
 
सत्ताको यस्तो फोहोरी खेलले राजनीतिक अस्थिरता निम्तिने भन्दै सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले  एमाओवादीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।
 
गृह जिल्ला हेटौंमा रहेका मन्त्री थापाले मिडिया नेपालका सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको अपीललाई ‘अप्रत्याशित एवं अनुपयुक्त’ बताएका छन् । पदको लोभमा परेर राष्ट्रिय स्वाधीनतामा आँच आउने काम गर्नुहुँदैन भन्दै मन्त्री थापाले राजनीतिक स्थायित्व शान्ति र आर्थिक सम्वृद्धिको दिशामा अघि बढ्नुपर्ने बताए । सरकारका संलग्न सहयात्री दलहरु एकै ठाउँमा रहनुपर्ने भन्दै मन्त्री थापाले राष्ट्रवादी शक्तिलाई समेत एकै ठाउँमा ल्याउन भूमिका खेलेका प्रचण्डले निर्णय सच्याउनुपर्नेमा जोड दिए ।
 
कांग्रेस–एमाओवादीको सहमति 
कांग्रेस सभापति देउवाले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड फालेपछि दुई दलबीच बैठक बसेर सहमति गरेका छन् । प्रचण्डले रातिसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने वक्तव्य जारी गर्ने वा बिहीबार बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसद स्थगनको प्रस्ताव लैजाने दुईदलबीच सहमति भएको छ । प्रचण्डको वक्तव्यमा सरकारलाई दिएको समर्थन फिर्ता हुने बताइएको छ । यदि वक्तव्य आएन भने बिहीबार बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसद स्थगनको प्रस्ताव लैजाने दुई दलबीच सहमति भएको छ ।
 
भारत ओलीको पक्षमा थिएन 
भारत केपी ओली नेतृत्वको सरकालाई निरन्तरता दिने पक्षमा थिएन ।  मौकाको ताकमा रहेको भारत र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच भित्रभित्रै विकल्पको खोजी चलेको धेरै समय भैसकेको थियो ।  लामो नाकाबन्दीबाट पछि हटेको भारत ओली सरकार ढाल्न चाहेका कारण एमाओवादी र कांग्रेसको समिकरण बन्न पुगेको हो । 
 
केही समयअगाडि साताव्यापी भारत भ्रमणमा गएका कांग्रेस सभापति शेरबहादुर देउवासँग भारतीय संस्थापन पक्षले ओली सरकार परिवर्तन गर्न एमाओवादी र कांग्रेस गठबन्धन बनाउन दबाब दिएको स्रोतको भनाइ छ ।  त्यही बेला भारतले प्रचण्डलाई पनि बोलाएको थियो । तर प्रचण्ड आफैं नगएर विश्वास पात्र कृष्णबहादुर महरालाई दिल्ली पठाए । देउवा र महरालाई राखेर भारतको संस्थापन पक्षले कांग्रेस÷एमाओवादी गठबन्धन बनाउन दबाब दिएको स्रोत बताउँछ । 
 
द्वन्द्वकालीन मुद्दाले तर्सायो
एमाओवादी भित्र वर्तमान सरकारले द्वन्द्वकालीन मुद्दा ब्युँताएर आफ्ना नेता कार्यकर्तालाई जेल हाल्न खोजेको भन्दै बुधबारको संसद बैठकमा एमाओवादी महासचिव कृष्णबहादुर महराले सरकारको चर्को आलोचना गरेका थिए । यो मुद्दाबाट तर्सेर एमाओवादी सरकारको समर्थन फिर्ता लिन खोजेको हो । प्रचण्ड प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला द्वन्द्वकालीन मुद्दा टुंग्याउने त्रिपक्षीय सहमति भएको स्रोतले बताएको छ । 
 
एक महिना अगाडि नै सरकारको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै सामुहिक छलफलका लागि एमालेलाई पठाइएको पत्रको जवाफ नदिएको, सककारले द्वन्द्वकालीन मुद्दा ब्युँताएर आफ्ना नेता कार्यकर्तालाई जेल हाल्ने काम गरेको भन्दै एमाओवादीले पछिल्लो समय असन्तुष्टी पोख्दै आएको थियो ।  
 
कांग्रेस–मोर्चाबीच छलफल
व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संविधानमा मधेसका मुद्दा उठाएर आन्दोलन गरिरहेको मधेसी मोर्चाबीच मुलुकको पछिल्लो राजनीतिक घटना क्रमका विषयमा केन्द्रित रहेर मंगलबार छलफल भएको छ ।
 
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको उक्त छलफलमा वर्तमान सरकारको प्रमुख सत्ता साझेदार एनेकपा माओवादी सरकारबाट बाहिरिनसक्ने अभिव्यक्ति र त्यसपछिको परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको थियो । छलफलमा मधेसी मोर्चाले वर्तमान सरकारलाई ढाल्न जस्तोसुकै सहयोग र समर्थन गर्नसक्ने भए पनि संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा सरकारमा जान नसक्ने धारणा राखेका थिए ।
 
सरकार सबै क्षेत्रमा असफल भएको हुँदा यसको औचित्य समाप्त भएको हुँदा अब ढाल्नुपर्छ भन्नेमा दुवै पक्ष सहमत भएको मोर्चासँग आबद्ध एक घटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए । उनले भने, ‘अब सरकार ढल्छ, सरकार ढाल्न हामी साथ दिन्छौँ भनेका छौँ, सरकार सबै क्षेत्रमा असफल भएकाले औचित्य समाप्त भइसक्यो भन्ने हाम्रो बुझाइ हो ।’