मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिलीजुली सामुदायिक वनमा आर्थिक हिनामिना

मिलीजुली सामुदायिक वनमा आर्थिक हिनामिना


चितवन । रत्ननगर–६ लालपर्सामा रहेको मिलीजुली मध्यवर्ती सामुदायिक वनमा व्यापक आर्थिक हिनामिना भएको भएको छ ।
सञ्चयकोष, भ्रमण, सिलाइकटाइ मेसिन खरिद, तारजाली, भ्यूटावर निर्माण, कुमाल तालबाट भएको आम्दानीलगायतका शीर्षकमा आर्थिक हिनामिना भएको छ । 
वनको सोमबार भएको आठौं वार्षिक साधारण सभामा लेखा समिति संयोजक विष्णुहरि देवकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा वनको आर्थिक वर्ष २०६३ देखि २०६८ सम्म पाँच वर्षको अवधिमा आर्थिक हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा वनका अन्य पदाधिकारी र सदस्यहरु परिवर्तन भए पनि अध्यक्ष भने परिवर्तन भएको थिएन । 
सोमबार भएको साधारण सभामा लेखा समितिका संयोजक देवकोटाले आर्थिक हिनामिना भएको थाहा भएपछि पाँच वर्षको प्रतिवेदन साधारण सभामा प्रस्तुत गरेका थिए । १० प्रति बनाएर छापिएको आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा समितिका संयोजक देवकोटाले मञ्चमा वाचन गर्दा गर्दै गायब गरिएको थियो । 
वनले भएको आम्दानीको हिस्सा वन संरक्षण, उपभोक्ताको आयआर्जन र विकास निर्माणमा खर्च गर्ने सामुदायिक वनको विधानमा व्यवस्था छ । तर सो वनले संरक्षणसँग जोडिएका कुनै पनि काम गरेको छैन । तीन वर्षदेखि वनले उपभोक्ताहरुलाई दाउरा पनि वितरण नगरेको उपभोक्ताहरुले बताएका छन् । भ्यूटावर निर्माणको लागि ९३ हजार ६५३ रुपैयाँ खर्च देखाइएको छ । तर भ्यूटावर निर्माण गरिएको छैन । 
भ्यूटावर निर्माणको लागि ११ वटा शीर्षकमा कामदार, काठचिरान खर्च, ढुवानी खर्च, नक्सा र डिजाइनमा भुक्तानी दिइएको छ । भ्यूटावरको लागि विभिन्न संघसंस्थाबाट लिइएको सहयोग रकम र वनबाट निकासी गरिएको काठ हराएको छ । 
त्यसैगरी वनका ४ वटा कर्मचारीको संचयकोषको २ लाख २८ हजार रकम हिनामिना गरिएको छ । लेखा परीक्षण गर्दा कर्मचारी सञ्चयकोषको अडिटरले बैंक विवरण माग गर्दा वनको कार्यसमितिले विवरण उपलब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
आर्थिक वर्ष २०६८/०६९ को कर्मचारी सञ्चयकोषको वनको तर्फबाट जम्मा गरिएको १५ हजार ८ सय, कर्मचारीको तर्फबाट १५ हजार ८ सय गरी ३१ हजार ६ सय र आर्थिक वर्ष २०६९/०७० मा वनको तर्फबाट सञ्चयकोषमा जम्मा गरेको २८ हजार ४ सय, कर्मचारीको तर्फबाट जम्मा गरिएको २८ हजार ४ सय गरी ५६ हजार ८ सय, आर्थिक बर्ष २०७०/०७१ मा वनको तर्फबाट जम्मा गरिएको ३१ हजार ९५०, कर्मचारीको तर्फबाट ३१ हजार ९५० गरी ६३ हजार ९ सय, २०७१/०७२ को वनको तर्फवाट ३८ हजार ३२५, कर्मचारीको तर्फबाट ३८ हजार ३२५ गरी ७६ हजार ६५० अबचलन गरिएको पाइएको छ । 
लेखा परीक्षकले सो रकम कार्यसमितिबाट असुल उपर गर्नुपर्ने भनी निर्देशन दिएको छ । एक लाखभन्दा बढी रकम तत्कालीन कार्यसमितिलाई दिएको र लामो समयसम्म विनाव्याज फिर्ता गरिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । पाँच वर्षसम्म एक लाखका दरले ४÷५ जना व्यक्तिलाई विनाव्याज पैसा दिँदा वनले ठूलो आर्थिक घाटा व्यहोर्न बाध्य भएको आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा जनाइएको छ । 
साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा एक वर्षमा १८ हजारसम्म मोबाइल रिचार्ज गरिएको उल्लेख छ । यता वनका अध्यक्ष रामेश्वर महतोले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पूर्वाग्राही तरिकाले आएको प्रतिक्रिया दिए । उनले वनले कुनै पनि आर्थिक हिनामिना नगरेको दाबी गरे । ‘सबै रकम शीर्षकअनुसार नै खर्च भएको छ’ उनले भने ‘लेखा प्रतिवेदन अध्यक्षलाई फसाउने नियतले ल्याइएको हो ।’