अन्तर्वार्ता

श्रृङ्खला १- समृद्ध नेपालको सपना : प्रवासी नेपालीको कामना

श्रृङ्खला १- समृद्ध नेपालको सपना : प्रवासी नेपालीको कामना


नेपालको आर्थिक,सामाजिक र राजनीतिक प्रवृत्तिको विद्यमान संरचनाले देशलाई समृद्ध वनाउन असंभव भएको तर्क विभिन्न क्षेत्रका व्यक्तित्वहरुको रहँदै आएको छ । तर गत वैशाखमा गएको प्रलयकारी भुकम्पमा देखिएको एक तहको व्यवस्थापकीय क्षमताले दृढ ईच्छा शक्ति भएको खण्डमा देशले काँचुली फेर्न सक्ने संभावना रहेको देखिन्छ । पछिल्लो एक दशकमा देशको आर्थिक विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान दिने समूहमा प्रवासमा रहेका नेपालीहरु नै अग्रपंक्तिमा आए । यसैले प्रवासमा वसेर चिन्तन मनन गर्नेहरुको वीचमा आफूले सिकेको सीप, आर्जन गरेको सम्पत्ति , हासिल गरेको विज्ञतालाई मातृभूमिमा कसरी उपयो गर्ने भन्ने सोचका साथ एउटा नयाँ अध्यायको शुरुवात गर्ने प्रयासमा जुटेका छौं । यसको मुख्य उद्देश्य नै  समृद्ध नेपालको सपना : प्रवासी नेपालीको चाहना हो, यो क्रमश एउटा ठोस अवधारणाको रुपमा साझा फोरमको भावनाले सृजना गरिएको छ । 
 
प्रवासी भूमिमा वसेर आफनो दक्षता क्षमताले भ्याएका र अनुभवले खारिएका व्यक्तिहरुको अनुभव,सोच र चिन्तनलाई समेटने जमर्कोका साथ मार्च २५,२०१५ देखि यो चौतारीको शुरुवात गरिएको छ । पहिलो श्रृखंलामा अमेरिकामा रहेका नेपाली अमेरिकनहरुको अनुभव,सीप र मातृभूमि माथि गरिएको वहुआयामिक प्रयासलाई समेटने जमर्को गर्ने छौं,दोश्रो चरणमा विश्वको जुनकुनै क्षेत्रमा रहेका नेपाली विज्ञहरुलाई समेटने जमर्को गर्नेछु  । यसवाट नेपालको समृद्ध वन्ने सपनामा एउटा अवधारणा निरन्तररुपमा पस्किदै त्यसलाइ अन्य माध्यमवाट कार्यान्वयनको चरणमा प्रवेश गराउन पहल गरिनेछ ।  
 
तत्कालको लागि अमेरिकामा रहेका न्यूज पोर्टलहरु (एभरेष्ट टाईम्स,विआरटी नेपाल, ग्लोवल नेपाल, ईनेप्लीज , हिमालय खवर, हिमाली पोष्ट, मेरो खवर नेट ) मार्फत यसलाई पाठकको सामु पस्किने छौं । पाठकहरुको निरन्तर सल्लाह र सुझावको आधारमा यसलाई परिमार्जन गर्दे लैजाने प्रयास गर्ने छौं । 
 
यस श्रृङ्खलाको प्रारम्भ अमेरिकाको राजनीतिमा होमिनु भएका थारै नेपाली मध्ये एक दर्शन रौनियारसँग गरिएको सम्वादलाई पाठकको सामु पस्किएका छौं । 
अमेरिकाको राजनीतिमा प्रवेश गर्ने पहिलो नेपाली हुनुहन्छ । दर्शन रौनियार अमेरिकाको राजनीतिमा होमिनु भएका नेपाली मूलका अमेरिकी हुनुहुन्छ । उहाँ सन् २०१२ मा वासिङ्गटन स्टेटवाट हाउस अफ रिप्रेजेन्टेटिभका उमेदवार वन्नु भएको थियो । यसरी अमेरिकाको राजनीतिमा उमेदवारी दिने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । पोर्टल्याण्ड स्टेट युनिभर्सिटीवाट स्नातकोत्तरको उपाधी लिनु भएका रौनियार स्थानीय निकायमा निर्वाचित हुनु भएको थियो । स्थानीय रुपमा मानव अधिकार आयोगको वोर्ड सदस्य जस्ता क्षेत्रमा काम गर्नु भएका रौनियार अमेरिकामा दुई छोरा र श्रीमतिका साथ वसोवास गर्दे आउनु भएको छ । उहाँ अहिले नेपालको राजनीतिमा शुद्धिकरणको अभियानमा खटिरहनु भएको छ ।
 तपाईले प्रवासी जीवन विताउनु भएको कति वर्ष भयो ? 
 मैले अध्ययन समेत गर्दा मातृभूमिवाट वाहिरिएको २७ वर्ष भयो । तर अझैपनि अस्ति भर्खर जस्तो अनुभूति हुने गरेको छ । 
 
 तपाईको विचारमा नेपालको लागि विषयगत रुपमा कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ? 
मेरो विचारमा जनताको प्रत्यक्ष सरोकार राख्ने भएकाले राजनीतिलाई नै प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ । किनकि जुन देशमा राजनीतिक शासकहरु राम्रो हुँदैंनन त्यो देशको विकासको गति कछुवाको जस्तो भएको हामीहरुले धेरै देशको अनुभववाट पढेका,देखेका र सुनेका छौं । राजनीतिक दलका नेताहरुको अर्कमण्यताको कारणले देशको विकास नहुने हो । त्यसैले अमेरिकी राष्ट्रपति अव्राहम लिंकनले भने जस्तै जनताको लागि जनताद्धारा जनताको सरकार हुनुपर्छ त्यसले मात्रै राजनीतिक स्थायित्व प्रदान गर्ने हुन्छ । जवसम्म राजनीतिक स्थायित्व हुन सक्तैन तव सम्म कुनै काम गर्न सकिदैंन् । स्थायित्व नभए सम्म सुशासन र कानूनी राज्यको अवधारणाले निश्चित आधार निर्धारण गर्ने सक्तैंन् । 
त्यसैले मैले दूरदृष्टि भएको नेतृत्वको खाँचो देखेको छु त्यसले देश वनाउने प्रतिवद्धता जाहेर गरोस् । त्यस्तो नेतृत्व देशको लागि खाँचो छ । 
 
 प्रवासी भूमिवाट नेपालमा देख्नु भएको चार समस्या के के छन् ?
नेपालको सन्दर्भमा पहिलो समस्या शिक्षाको रहेको छ । दोश्रो स्वास्थ्यको तेश्रो पूर्वाधारको र चौथो कानूनी राजको अभाव देखेको छु । 
 
यी समस्या समाधानको उपाय के हुन्छ जस्तो लाग्छ ? 
सवैभन्दा पहिले जनताको शिक्षाको अधिकार स्थापित गर्दे देशको लागि आवश्यक पर्ने जनशक्तिको विकासमा स्पष्ट नीति हुनुपर्छ । त्यो नीति निर्माण गर्नको लागि नयाँ नेतृत्वको जरुरी रहेको छ । जसले देशको आवश्यकता अनुसार जनतालाई एकतावद्ध गर्दे लैजान सकोस् । त्यसले जनताको स्वास्थ्यमा गम्भिरता पूर्वक सोचोस र कानूनी रुपमा देशलाई मजवुत वनाउन सकोस् । म त भन्छु नेपाल नवनेको दूरगामी सोच भएका नेताहरुको अभावले हो ,अहिलेका नेताहरुसँग कुनै त्यस्तो प्रकारको दृष्टिकोण नै छैंन । 
 
तपाईले संगठित या असंगठित रुपमा नेपाललाई के कसरी सहयोग गर्नु भएको छ ? 
हेर्नोस, मैले नेपालमा यो गरे त्यो गरे भनेर भन्ने पक्षमा छैंन् , तर म्याक अभियान भनेर मैले व्यक्तिगत र सांगठिनक रुपमा नेपालको राजनीतिक क्षेत्रको परिवर्तनको लागि प्रयास गरेको छु । यस अन्र्तगत युवा पिढीको लागि विभिन्न फोरमहरु सञ्चालन गरेको छु । १५० भन्दा लेक्चर सिरिज सञ्चालन गरेको छु । मलाई नयाँ पिढीको पुस्तालाई राजनीतिमा स्थापित भएर देशको मुहार परिवर्तन भएको हेर्ने रहर छ । जसले वास्तवमा देशलाई हाँक्न सकोस् । 
 
मैले सहयोग गरेको विषय यहाँले उल्लेख गर्न भन्नुभयो, गत वैशाखमा गएको भुकम्पमा परि दिवंगत हुनु भएका दाजुभाईहरु प्रति श्रद्धाका भाव व्यक्त गर्न र जीवित घाईते तथा पिडीतहरुको पीडामा राहत होस भनेर भुकम्प गएको २५ दिन भित्र विभिन्न २३ स्थानमा पुगेर राहतको सामाग्री वितरण गर्न सफल भएको थिए,त्यो वेलामा मेरो पहललाई सहयोग गर्नुहुने मेरा साथीभाई प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । हामीहरुले अस्थायी घर वनाउन , भत्किएका विद्यालयलाई पुर्ननिर्माण गर्न केही सहयोग गरेका थियौं । साथैं नेपालमा रगतको प्रत्यारोपण गर्ने कुनै पहलकदमी नभएको कारणले रगत प्रत्यारोपण गर्न कालिकास्थानमा स्थापित संस्थालाई सहयोग गर्दे आएको छु । 
 
एउटा देशको नागरिकले त्यो देशलाई समृद्ध वनाउन के गर्नुपर्छ ?
मेरो विचारमा नागरिकले मातृभूमि लागि केही गरौ भन्ने भावना सदैव हुनुपर्छ । आफनो ईच्छा शक्ति,नैतिकता,प्रतिवद्धतामा रहेर समुदायको वृहत्तर हीतको लागि नागरिकले भूमिका खेल्न सक्छ । जनताका असिमित चाहना र ईच्छा पूरा गर्न राज्य सदैव चनाखो भयो भने नागरिकमा आशा र भरोसा जागृत हुन्छ । त्यस्ता नागरिकहरुको भावनालाई आत्मसात गर्दे अगाडि वढन नयाँ नेतृत्व आवश्यक छ भन्ने मलाई लाग्छ ।  
 
तर नेपालको हकमा मानिसहरु आफनो र परिवारको स्वार्थमा मात्रै रुमल्लिरहेको पाएको छु । त्यसको जड भनेको कै विकृत राजनीति र त्यसमा संलग्न नेताहरुको हो । राम्रो नेता आउन सकेको खण्डमा देशभक्ति र नागरिकको दायित्व वोध भएर राष्ट्र निर्माणमा उनीहरु सरिक हुन सक्छन् । त्यसैले लाखौ मानिसहरु अवसरको खोजिमा विदेशी एका छन् । उनीहरु परिवारको दैनिकी गुजाराको लागि आफनो दायित्ववोधका साथ विदेशिएका छन् । 
 
नेपालमा वस्ने नेपालीहरुले प्रवासी भूमिमा वस्नेहरुको आलोचना वढी गर्छन्, के साँच्चै प्रवासमा वसेपछि देशको माया ममता टुटेकै हुन्छ ? यसमा तपाईको के टिप्पणी छ ? 
वास्तवमा यो महत्वपूर्ण प्रश्न हो । प्रवासमा वस्ने रहर मानिसहरुलाई हुँदैंन्, उनीहरु प्रवासी भूमिमा वसे पनि खुशी नभएको मैले पाएको छु । नेपालमा वस्नेहरुले आलोचना गरेका होईनन की उनीहरु र प्रवासमा वस्ने नेपालीहरु वीच जोडने कतिपय विषयमा जानकार नभएर पनि उहाँहरुको टिप्पणी आएको हुन सक्छ । 
 
प्रवासमा वसेपछि देशको माया झन वढछ ।त्यो अनुभूति नेपालको भूगोल काटेर हिडेको हरेक व्यक्तिले अनुभूति गरेको हुन्छ । त्यसैले म के भन्छु भने नेपाली नेपाली वीच एक आपसमा जोडनको लागि एउटा मजवुत आधारशीला वन्दै गएको छ, त्यो आगामी दिनमा अझ वढी मजवुत हुनेछ । यसको लागि नेपालमा नेताहरुमा एक्काईसौ शताव्दिलाई नेतृत् वगर्न सक्ने ठूलो छाती भएको व्यक्तित्व हुनुपर्छ । जसले विदेशिएका नागरिकहरुको अधिकारको पूर्ण प्रत्या भूतिको सोच वनाओस् । विदेशीएका नागरिकहरुको माग अनुसार दोहोरो नागरिकता,सहज पहुँच,सम्पत्तिको अधिकार, आवागमनको सहजता जस्ता विषयमा नीति वनाउन आवश्यक छ । 
 
गत वैशाख १२ र २९ गते गएको भुकम्प पछि अमेरिकामा रहेका नेपालीहरुले त्यति सहयोग नगरेकै हुन् की के हो ? 
हेर्नोस, गत अप्रिलमा गएको भुकम्पमा जति जनधनको क्षति भयो त्यो क्षतिको आधारमा सवै प्रवासी नेपालीहरुले साथ र सहयोग गरेका हुन् । अन्र्तराष्ट्रिय मिडियाहरुको चासो र चर्चाका कारण विश्वको कुनै भूगोलमा उभिएको नेपाली रोएको थियो । त्यसैले उनीहरुले आफूले सक्ने जति सहयोग गरेकै हुन् । त्यो कठिन घडीमा अमेरिकामा रहेका नेपालीहरुले पनि महत्वपूर्ण सहयोग गरेका हुन् । 
 
तपाईको दृष्टिकोणमा प्रवासी नेपालीलाई मातृभूमिसँग जोडनका लागि हाम्रो दायित्व के हुन सक्छ ? 
हामी प्रवासमा वसेकाहरुले केही न केही गरिरहेका छौं जस्तो लाग्छ । विहान उठेदेखि नसुत्दा सम्म हामी मातृभूमिसँग जोडिएकै हुन्छौं । तर मैले माथि नै भनिसके नि हामीहरु सकेको सहयोग गर्छौ, अव यसलाई विदेशमा वसेर हासिल गरेको या सिकेको नैतिकता, सुशासन, दक्षतालाई कसरी रुपान्तरण गर्दे मातृभूमिलाई तिव्र गतिको विकासमा लैजान के गर्न सकिन्छ भन्ने चिन्तन गर्दे काम गर्नुपर्ने हुन्छ । 
 
अवको १५ वर्षमा नेपाललाई समृद्ध देशको रुपमा विश्व सामु परिचय दिलाउन सक्षम होला  ? त्यसको लागि के गर्नुपर्छ ? 
समृद्धि भनेको आकाशवाट आउने विषय भएन, त्यसैले मानिसले गरेर हुने कुरामा असंभव भन्ने हुँदैंन् । हामी १५ वर्षमा समृद्ध नेपाल भएको देख्न सक्छौं । तर त्यसको लागि मैले शुरुमा भने जस्तै दूरदृष्टि भएको नेताको खाँचो छ, त्यो नयाँ नेतृत्ववाट मात्र संभव छ । अन्यथा तपाईले भन्नु भएको १५ वर्ष मात्र होईन २५, ५० वर्ष सम्म पनि अहिलेका नेतावाट देश समृद्ध वन्न सक्तैन् । नयाँ भिजन भएको नेतृत्वले नयाँ खालको नेतृत्व आएपछि स्थायित्वका साथ वृहद रुपमा शिक्षा,स्वास्थ्यको क्षेत्रमा परिवर्तन गर्न सकिन्छ । नेपालमा उपलब्ध भएका स्रोत साधनलाई परिचालन गर्न सकिन्छ । त्यसले समृद्धि वढाउन सक्छ ।  
 
तपाईले पटक पटक नयाँ नेतृत्व भन्नु भयो, के तपाई नेपालको नयाँ शक्तिको अवधारणासँग सहमत हुनु भएको हो ? 
होईन्, तपाईले ठीक भन्नु भयो मेरो सोच भनेको देशको राजनीति र सरकारमा नयाँ भिजन भएको व्यक्ति आउनु परयो भन्ने हो । अहिले चर्चामा आएको नयाँ शक्तिलाई केन्द्रित गर्न खोजेको होईन् । अहिले भएका नेताहरु सवैले अवसर पाईसकेका छन् । उनीहरुले असफल भएका हुन् । त्यसैले उनीहरु प्रति झुकाव होईन् । 
 
अन्त्यमा ,तपाई नेपालमा गर्न चाहनु भएको कुनै योजना छ ? तपाईको योजना संक्षेपमा वताउन सक्नु हुन्छ ? 
हो, अहिले हामीले नेपालेको राजनीतिक परिवर्तनको जरुरी महसुस गरेर विगत तीन वर्ष देखि मुभमेन्ट फर चेञ्ज (M4C) अभियान चलाएका छौं । यसले नयाँ शक्ति,नयाँ नेतृत्व, नयाँ विचार भन्ने मूल नाराका साथ नेपालको प्रजातान्त्रिक संस्कारलाई जनताका अधिकार स्थापनाका लागि पूर्ण प्रत्याभूति सहितको सरकार र नीति निर्माण हुनु पर्छ भन्ने मान्यता राखेका छौं । यसै अभियान अन्र्तगत केही दिनमा म नेपाल पनि जाँदैछु । यसको ध्यान राजनीतिको जरा अर्थात मुहानमा नै फोहोर छ, त्यो मुहानलाई पूर्ण रुपमा शुद्धिकरण नगरी अरु अङ्ग शुद्ध वनाउन सकिन्न भन्ने सोच हो । देश वनाउनलाई अव दैनिक पन्ध्रसय मानिस वाहिर पठाउने होईन, वाहिर रहेका नेपालीहरुलाई स्वदेश ल्याउने अर्थात रिभर्स माईग्रेशनको सोचमा हामीहरु लागेका छांै । यो योजनालाई अझ व्यापक वनाउने योजनामा लागेको छु । 
 
अन्त्यमा म सम्पूर्ण विश्वभर छरिएर रहनु भएका र नेपालमा वसेर अहोरात्र खटिरहनु भएका सवैसँग अपिल गर्न चाहन्छु – हामीसँग सुखद भविष्यको आशा छ, आउनुहोस हातेमालो गरौ नेपाललाई समृद्ध देशको निर्माण गर्न कठोर प्रतिवद्धताका साथ प्रण गरौ । 
 
(देश वनाउनलाई अव दैनिक पन्ध्रसय मानिस वाहिर पठाउने होईन, वाहिर रहेका नेपालीहरुलाई स्वदेश ल्याउने अर्थात रिभर्स माईग्रेशनको सोचमा हामीहरु लागेका छौ  । यो योजनालाई अझ व्यापक वनाउने योजनामा लागेको छु । 
 
विहान उठेदेखि नसुत्दा सम्म हामी मातृभूमिसँग जोडिएकै हुन्छौं । तर मैले माथि नै भनिसके नि हामीहरु सकेको सहयोग गर्छौ, अव यसलाई विदेशमा वसेर हासिल गरेको या सिकेको नैतिकता, सुशासन, दक्षतालाई कसरी रुपान्तरण गर्दे मातृभूमिलाई तिव्र गतिको विकासमा लैजान के गर्न सकिन्छ भन्ने चिन्तन गर्दे काम गर्नुपर्ने हुन्छ ।) 
 

शेयर गर्नुहोस:

0
Shares