मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्षयरोग परीक्षणमा ‘जिन एक्स्पर्ट’ मेसिन प्रभावकारी

क्षयरोग परीक्षणमा ‘जिन एक्स्पर्ट’ मेसिन प्रभावकारी


चितवन । गम्भीर प्रकृतिका र संवेदनशील बिरामीको क्षयरोग परीक्षणमा ‘जिन एक्स्पर्ट’ मेसिन प्रभावकारी भएको छ ।
 
विशेष प्रकारका बिरामीको खकार परीक्षणका लागि प्रयोग गरिएको यो मेसिन प्रभावकारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कुष्ट तथा क्षयरोग अधिकृत जयराम दवाडीले जानकारी दिनुभयो । सरकारले नेपालका विभिन्न ३० स्थानमा उक्त मेसिन स्थापना गरेको छ ।
 
निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण हुने गर्दछ । एचआइभी सङ्क्रमित बिरामी, जतिपटक परीक्षण गर्दा पनि नेगेटिभ रिजल्ट आएको तर उसको शारीरिक अवस्थामा रोग देखिएको, क्षयरोग लागेका व्यक्तिको परिवारका सदस्यलाई उक्त मेसिनबाट परीक्षण गर्ने गरिएको दवाडीले जानकारी दिनुभयो ।
 
“यसले कुनै त्रुटि देखाउँदैनर मान्छेको आँखाले हेरेर गर्ने परीक्षण जस्तो झन्झट पनि हुँदैन त्यसैले यो प्रविधि केही महँगो भए पनि प्रभावकारी छ, दवाडीले भन्नुभयो ।’
 
जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा दिन्छ । 
 
अर्को पुरानो पद्धति भने खकारलाई कीटमा राखेर माइक्रोस्कोपको सहायतामा हेरेर रोग पत्ता लगाइने हो । यसरी गर्दा दुईपटकसम्म परीक्षण गर्नुपर्ने र त्रुटिको सम्भावना पनि हुने कार्यालयले जनाएको छ ।
 
जिन एक्स्पर्ट मेसिनमार्फत गएको एक वर्षमा चितवनमा ३३२ जनाको खकार परीक्षण भएको थियो । उनीहरुमध्ये ९७ जनामा क्षयरोग लागेको पुष्टि भएको कार्यालयले जनाएको छ । तीमध्ये ३५ महिला र ६२ जना पुरुष छन् । 
 
चितवनमा अघिल्लो एक वर्षमा एक हजार चारजना क्षयरोगी पत्ता लागेको छ । यो आवको पछिल्लो आठ महिनामा ९०० क्षयरोगी फेला परेको दवाडीले जानकारी दिनुभयो ।
 
नियमित औषधि खाए निको हुने दर करिब शतप्रतिशत नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख मधुसूदन कोइरालाले बताउनुभयो । आज परेको विश्व क्षयरोग दिवसका अवसरमा चितवनमा बुधबारदेखि नै विभिन्न जनचेतनामूलक कार्यक्रम सुरु भएको छ । 
 
आज बिरामीलाई फलफूल वितरण र चेतनामूलक कार्यक्रम तथा ठाउँठाउँमा पर्चा वितरणको गरिएको छ । क्षयरोगको उपचार निःशुल्क हुन्छ । रासस