मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेतनाको विकास विना सरसफाई अभियान सफल हुन नसक्ने

चेतनाको विकास विना सरसफाई अभियान सफल हुन नसक्ने


मानविय चेतनाको विकास  र व्यवहारमा परिवर्तन ल्याउन सकेमात्र हरेक क्षेत्रमा परिवर्तन र विकाश सम्भव हुन सक्छ ।  मानिस त्यस्तो अजिवको प्राणी हो जसलाई हतपत उसको आनी-बानीमा परिवर्तन गर्न गार्हो पर्छ । यो कुरा गर्नु हुँदैन भन्ने दिमागमा भएपनि व्यवहारमा त्यही गरिरहेको हुन्छ । त्यस्तै प्रसंग अहिले नेपालमा चलिरहेको टोल, गल्ली, सडक, सार्वजनिक स्थल, पार्क, मठ-मन्दिर , पुरातन महत्वका सम्पदा स्थल, अस्पताल , स्कुल परिसर, सरकारी कार्यालय, गाउँघरका आगनहरु, काठमाण्डौका बागमती , बिष्णुमती लगायतका नदीनाला आदी स्थानहरुमा सरसफाई गर्ने अनेक प्रयास अनेक संघ-संस्था, व्यक्तीहरुबाट हुँदै आएको छ तापनि त्यसले ठोस सकारात्मक परिवर्तन ल्याउन भने सकिरहेको छैन ।
 
केही बर्ष पहिला देखि गाउँघरहरुमा खुल्ला दिसामुक्त  गाउँ, जिल्ला घोषणा गर्न केही संघ-संस्था र सरकारी कार्यालयहरुको प्रयासहरु हुँदै आएको छ र अधिकांश गाउँहरु यो अभियानमा सरिक पनि भए र यसमा  गाउँका ग्रामिण संघ-संस्था, स्थानिय क्लव, आमा समुहहरु , महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्कुलहरु , विभिन्न सामाजिक सेवामा क्रियाशील संस्थाहरुको उल्लेखनिय सहभागिता पनि देखियो । उनीहरुको सामुहिक पहलमा गाउँलाई खुल्ला दिसामुक्त गा.वि.स. भनि धुमधामसँग बाजा-गाजा र अबिर जात्रा गरेर घोषणा पनि गरियो । केही समय घोषण गर्दा भने झै पनि सबैले स्थायी-अस्थायी शौचालय बनाएर प्रयोग गरेको पनि देखियो र सरसफाई पनि कायम रह्यो तर केही महिना पछि पुन खुल्लारुपमै खेतबारीको कान्लामुनि, चौरका खोल्सा -खाल्सीहरुमा  दिशा-पिसाव गर्ने प्रचलन शुरु हुँदै गएको पनि देखियो । यसले के देखाउँछ भने कुनै प्रयास र अभियान परिवर्तन असल कामका लागी गरिएतापनि दिगो रुपमा त्यसलाई कायम राख्नको लागी सबैभन्दा पहिला आमरुपमा चेतनाको विकास , सोच , व्यवहार र आनी-बानीमै परिवर्तन गर्न सक्नु पर्छ अर्थात् असल संस्कारको जव सम्म विकाश गर्न सकिदैन तव सम्म कुनै कार्यबाट प्राप्त परिणाम टिकाउ हुन सक्दैन । त्यस्तै अवस्था खुल्ला दिसामुक्त गाउँ निर्माणको सन्दर्भमा पनि देखिएको छ । 
 
अहिले धुर्मुस -सुन्तलीहरुले पनि गाउँ, टोल सरसफाई अभियानलाई द्रुत गतिमा अगाडी बढाएको समाचारहरु सुन्नमा आएको पाईन्छ त्यस्तै विगत केही समय देखि बाग्मती नदी सरसफाई अभियान चलिरहेको छ र भर्खरै पुर्व प्रधानमन्त्री  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तीले काठमाण्डौ महानगरपालिका /राजधानी सरसफाई अभियान संचालन गरिरहेको छ । यी र यस्तै अभियान समय-समयमा संचालन हुँदै आएका छन् तर पनि यी सबै प्रयासहरुबाट सोचे अनुरुप नतिजा निस्कन सकिरहेको छैन । किन यस किसिमका प्रयास र अभियानले दिगोरुपमा सफलता हासिल गर्न सकिरहेको छैन यसबारे अभियान संचालन पक्ष र सम्बन्धित सरकारी निकायबाट खासै चासो देखाएको देखिदैन । गाउँ-शहर , टोल-गल्ली, पार्क, शैक्षिक संस्था , नदी-नाला, सडक लगायत सबै क्षेत्र सफासुग्घर हुनु पर्छ भन्नेमा सबैको एकमत छ तर हामी आफ्नो व्यवहार र आचरण सुधार गर्न सकिरहेका छैनौ । जस्तो की विहानै झिसमिसमा उठेर घरको फोहोर सडक, गल्लीमा फ्याक्छौ, रत्नपार्क नजिक यसो मान्छेहरु यताउता हेरेर सडक छेउ लगाएको बार-पर्खालमा पिसाव गर्छौ, खुल्लामंचमा त्यस्तै गरेर दिसा-पिसाव गर्छौ, घरको ढल सिधै बागमती र बिष्णुमतीमा मिसाउँछौ , यताउता छेल पारेर खेतबारीका कान्लामुनि दिसा-पिसाव गर्छौ त्यसपछि कसरी हुन सक्छ सार्वजनिक स्थल, नदीनाला, टोल, सडक सरफाई र दुर्गन्धमुक्त यसबारे हामीले सोच्नु पर्यो अनि हाम्रा बानी-व्यवहार एवं सोच र संस्कारमा परिवर्तन ल्याउनु पर्यो । प्रत्येक घर-परिवारमा असल नागरिक शिक्षा दिईनु पर्यो , समाज र समुदायले आफ्नो टोल र क्षेत्रको आफै सफा गर्ने , आफ्नो घर-आँगन आफै सफा राख्ने संस्कारको विकाश गर्नु पर्यो, डाईरेक्ट नदीनालाहरुमा ढल मिसाउने र फोहोर फाल्ने कामलाई रोक्न उचित प्रयास गर्नु पर्यो । यस्ता स्थानहरुमा फोहोर गर्नेलाई दण्ड-सजायको कडा कानुन बनाउनु पर्यो र नियमनकारी निकाय सक्रिय हुनुपर्यो तव मात्र सरफाई सम्बन्धी तमाम प्रयासहरु सफल हुन सक्छन् अन्यथा बालुवामा पानी खनाए सरह र सस्तो लोकप्रियता कमाउने प्रयास बाहेक केही हुने छैन ।
 
 विदेशी मुलुकमा सडकहरु र सबैतिर सरसफाई हुनुमा नागरिक चेतना र सोचले नै काम गरेको छ भने अर्को तर्फ फोहोर गर्नेलाई कडा कानुनी सजाय र दण्डको व्यवस्थाले पनि यो सम्भव रहेको छ । हालै एक अन्तर्राष्ट्रिय अध्यायन बाट संसारकै प्रदुषित शहरहरुको लिष्टमा नेपालको काठमाण्डौलाई तेस्रो नंबरमा राखेको खबरले पनि अव नेपालीहरुको दिमागको घण्टी बज्नु पर्ने देखिन्छ । हामीले सरकारी निकायलाई मात्रै दोष थुपारेर पन्छिनु एक किसिमले गलत हो किनकी हामी पढेर र जानेर पनि मुर्ख बनिरहेका छौ र धुवा एवं प्रदुषण फैलिने काम गर्नमै सरिक छौ । थोत्रा सवारी साधनहरुलाई सडकमा गुड्न प्रतिबन्ध लगाउन खोज्दा सडकमा गगनभेली विरोधका लामहरु प्रस्तुत गर्छौ । बस्ती नजिक प्रदुषण नियन्त्रण गर्ने डिभाईस जडान नगरी कलकारखाना र ईट्टाभट्टाहरु संचालन गर्छौ , जथाभावी फोहोर गर्छौ अनि कसरी हुन सक्छ प्रदुषण नियन्त्रण र फोहोरमुक्त सडक । यसैले आम नागरिकमै जिम्मेवारीको बोध र जिम्मेवार नागरिक बन्न नखोजे सम्म जतिसुकै प्रयास जो जसबाट भएपनि खासै सुधार हुन सक्ने अवस्था देखिदैन । अत: घर-परिवार र स्कुल तहबाटै नागरिक शिक्षा प्रदान गरेर सबैमा जिम्मेवार हुन अन्तरआत्मादेखीनै सिकाउन सक्नुपर्छ ।