मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

१३ औं महाधिवेशनका म्यान अफ द म्याच – प्रदीप पौडेल

१३ औं महाधिवेशनका म्यान अफ द म्याच – प्रदीप पौडेल


न त पारिवारिक विरासत न त कुनै पनि लाभको पदमा पुगेको अनुभव । यद्यपी पूर्वी ताप्लेजुङदेखि पश्चिम दार्चुला सम्मका महाधिवेशन प्रतिनिधिहरुको मन मस्तिष्क जित्दै नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट प्रदीप पौडेल शशक्त युवा नेताको रुपमा स्थापित हुन सफल भएका छन् । खुल्ला २५ तर्फ १७ सय ९ मत ल्याएर छैठौ स्थानमा आउन सफल नेता पौडेल पटक पटक मन्त्री, सभासद् तथा लाभका अन्य पदमा पुगिसकेका हस्तीहरुलाई पछि पार्न सफल भएका हुन् । अन्तिम समयमा संस्थापन पक्षका खुल्ला २५ उम्मेदवारको सूचिबाट समेत षडयन्त्रपूर्वक हटाइएका ४१ वर्षीय पौडेल खुल्ला २५ तर्फ निर्वाचित हुने सबैभन्दा कम उमेरका नेता हुन् । उच्च तार्किक क्षमता भएका शान्त, मिलनसार तथा सरल स्वभावका पौडेल १२ औ महाधिवेशनमा २७ औं स्थानमा परेका थिए ।
 
गत पाँच वर्षको अवधिमा पार्टीले दिएको सबै खाले जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गरेका कारण नै बौद्धिक व्यक्तित्व पौडेल अधिकांश मतदाताको मन जित्न सफल भएका हुन् । त्यसो त पार्टीलाई उहाँ जस्तो शशक्त तथा जुझारु युवा नेता अत्यावश्यक भएकाले तत्कालीन पार्टी सभापति सुशील कोइरालाले पौडेललाई गत वर्ष केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । केन्द्रीय सदस्यमा मनोनित भएपछि पौडेलले अरु नेताले गर्न नसकेका कामहरु पूरा गर्दै आफू दक्षता प्रमाणित गरिदिए । शीर्ष नेताहरुले तराईका कतिपय जिल्लामा मिलाउन नसकेको विवाद मिलाउन पौडेल सफल भए ।
 
जनसम्पर्क समिति गठन नभएको प्रमुख कम्युनिष्ट राष्ट्र चीनमा जन  सम्पर्क समिति गठन गरे भने अन्य मुलुकका जनसम्पर्क समितिलाई अझ क्रियाशील बनाउन प्रेरणादायी भूमिका निर्वाह गरे । महाभूकम्प प्रभावित जिल्लाहरुमा पुगेर एकल नेतृत्वमा सबैभन्दा बढी ५ सय घर टहरा निर्माण गरिदिए । त्यस्तै महाभूकम्प प्रभावित हजारौ जनतालाई आफ्नै हातबाट लाखौंको राहत बाँडे, क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माणमा अहोरात्र खटिरहे भने पीडित विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी सामाग्री वितरण गरे ।
 
राजधानीको सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गर्ने क्रममा नै नेविसंघको सदस्यता लिएका पौडेल २०४६ सालको जनआन्दोलनमा पनि निकै सक्रिय रहे । धेरैलाई थाह नहुन सक्छ पौडेलले नै वनस्थली स्कुलमा आफु भन्दा एक ब्याच तल अध्ययनरत अहिलेका अर्का चर्चित युवा नेता गगन थापालाई नेविसंघको सदस्यता प्रदान गरेका थिए । सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी पूरा गरेका पौडेल आइएस्सी अध्ययन गर्ने क्रममा अमृत साइन्स क्याम्पसमा भर्ना भए । अनेरास्ववीयूको किल्लाको रुपमा रहेको अमृत साइन्स क्याम्पसमा पौडेलको प्रवेश प्रजातन्त्र पक्षधर विद्यार्थीका लागि वरदान सावित भयो ।
 
पौडेल २०५३ सालको स्ववियू निर्वाचनमा नेविसंघको तर्फबाट सभापतिमा विजयी भए । पौडले सभापतिमा विजयी भएपनि अन्य सबै पदमा अनेरास्वावियूले बाजी मारेको थियो । अमृत साइन्स क्याम्पसमा पाएको ऐतिहासिक सफलतासँगै पौडेल देशभर चर्चित विद्यार्थी नेताको रुपमा प्रतिस्थापित भए । अन्तत ः यो दुर्लभ जीत नै पौडेलको राजनीतिको टर्निङ पोइन्ट  बन्न पुग्यो । पौडेलपछि अमृत साइन्स क्याम्पसमा नेविसंघको कुनै पनि उम्मेदवारले अहिले सम्म जीत हासिल गर्न सकेका छैनन् ।  त्यसपछि क्रमश नेविसंघको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै २०६४ सालमा पौडेल कीर्तिमान ढंगले नेविसंघको केन्द्रीय अध्यक्ष बन्न सफल भए । नेविसंघको इतिहासमा नै सबैभन्दा बढी मतान्तरले अध्यक्षमा विजयी हुने कीर्तिमान प्रदीपकै नाममा छ ।
 
नेविसंघको अध्यक्ष भए लगत्तै उनले सामुदायीक विद्यालय सुधारका लागि विशेष योजनाहरु कार्यान्वयन गरे भने स्कुल स्कुलमा नेविसंघको इकाइ गठन गर्ने वातावरण तयार गरे । पौडेले नेविसंघको केन्द्रीय अध्यक्ष हुँदा भएको स्ववीयू निर्वाचनमा चीर प्रतिद्धन्द्धी अनेरास्ववीयूलाई पछि पार्दै नेविसंघ पहिलो भयो । २०५९ सालको प्रतिमगन विरोधी आन्दोलन तथा २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको शाही कु पछि सबैभन्दा बढी जेलनेलको सामना गर्ने विद्यार्थी नेताहरु मध्ये प्रदीप प्रमुख हुन् । वीपी कोइरालालाई आदर्श मान्ने अविवाहित पौडेल राष्ट्रिय राजनीतिका लामो दूरीका घोडा हुन् ।