मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के पुँजीवादी सोचमा हराएको नेपाली काँग्रेसको समाजवादी चरीत्रको खोजी १३औ महाधिवेशनले गर्ला ?

के पुँजीवादी सोचमा हराएको नेपाली काँग्रेसको समाजवादी चरीत्रको खोजी १३औ महाधिवेशनले गर्ला ?


जहाँनीय राणाशासनका बिरुध्दमा वी.पी. कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ (३१ अक्टुवर, १९४६) मा बनारसमा देवि प्रसाद सापकोटाको सभापतित्वमा जन्मेको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको  प्रथम महाधिवेशन वि.सं.२००३ माघ १२ र १३ (जनवरी २५-२६, १९४७) भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाईस्कूलमा भएको थियो । यसै महाधिबेशनले वी.पी. कोइरालालाई कार्यकारी सभापतिमा र नेपाल जेलमा आजीवन कारावाशको सजाय भोगिरहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गर्दै पार्टीको नीति तथा कार्यक्रम तय गरेको थियो । आज स्थापनाको सात दशक पार गर्दै प्रजातन्त्रिक आन्दोलनका लागि मुल्य चुकाउँदै आएको नेपाली काँग्रेस आफ्नो १३औं महाधिवेशनमा जुटेकोछ । 

 
नेपाली काँग्रेसको जडन भन्नु नै प्रजातान्त्रिक समाजवाद हो, जसलाई वी.पी. ले राजनैतिक तहमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने खालको बिकासको ढाँचा भनेर परिकल्पना गरेका थिए । जसले राष्ट्रिय बिकासका लागि स्वदेशी माटो सुहाउँदो प्रविधी र आफ्नै ज्ञानको उपयोग गर्नु पर्ने अवधारणा अधि सारेका थिए । उनको समाजवादी अवधारणाको अर्को पाटो भनेको विदेशी सहयतामा परनिर्भर बिकासले बर्ग बिभाजन गर्ने र भ्रष्टाचार मौलाउने हुँदा देशको प्रबिधिले धान्ने र आफैले संचालन गर्न सक्ने विकासको ढाँचा अवलम्वन नगरे दिगो बिकास हुन सक्दैन भन्ने हो । 
 
अहिले पनि नेपाली काँग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो प्रमुख आदर्श बनाउदै आएको छ । १३औं महाधिवेशनको यस संघारमा आईपुग्दा सम्म वि.सं. २०४६ सालको परिवर्तन संगै नेपाली काँग्रेसले कैयौ पटक शासनसत्ताको बागडोर सम्हालेको छ । देश सम्वैधानिक राजतन्त्र हुदै संघीय शासन प्रणालीमा गएकोछ । बि.सं. २०४६ साल तिर देश पुरै काँग्रेसीमय थियो । नेपाली काँग्रेसले समाजवादी सोचलाई अगाडी वढाउँदै आफ्नै मोडेलको विकासको ढाँचा तय गर्ने समय थियो । तर जनचाहना र पार्टीको नीति विपरित बैदेशिक सहायता र पर निर्भर बिकासको ढाँचाको अनुकरणले धनी झन झन धनि र गरीव झन झन गरीव बन्दै गए । यसैको फलस्वरुप काँग्रेसले जनमानस प्रतिको बिश्वास गुमायो भने कम्यनिष्टहरुको गुणात्मक बृध्दि भयो र मओवादीको उदय भयो । 
 
नेपाली काँग्रेसलाई प्रजातान्त्रिक समाजवादी पार्टीको रुपमा स्थापित गरी मूल्य र मान्यताको राजनिती गर्नु पर्नेमा उपल्लो दर्जाका सिमित धेराका भान्से कचहरीको आदेशमा मुलुक चल्यो । फलस्वरुप गरीव र धनीबिचको खाडल बढ्यो । जसका केहि उदाहरण मध्ये – बि.सं. २०४६ साल पुर्व नेपालमा केहि चुने गनेका मात्र निजी शिक्षण संस्था थिए भने प्रजातन्त्रको स्थापना संगै देशमा शैक्षिक उन्नतिको बिस्तार भयो तर यहाँ दुई किसिमका नागरीकहरु तयार गर्ने शैक्षिक संरचनाहरुको बिकास भयो । शिक्षामा ब्यापारीकरण हुदै हुनेखानेको र गरीवको शिक्षा फरक फरक ढंगको भयो । वी.पी. को सपना र समाजवादको शैक्षिक क्षेत्रमा मृत्यु गराईयो ।  यसै गरि स्वास्थ्य क्षेत्रमा पनि सरकारी र निजी गरि गरीव र धनीबर्गका लागि छुट्टै संरचनाहरु बने । सहरमूखि सुबिधाहरुले गाउँलाई वेवास्था गरयो । 
 
समाजवादको अवधारणा अनुसार सामाजिक न्यायको मुल्यमा बसेर नेपालका दुरदराजलाई हेरेको भए आज देशको अवस्था नै फरक हुन्थ्यो । भीम बहादुर तामाङ, कुल बहादुर गुरुङ जस्ता समाजवादी नेताले नेपाली काँग्रेसलाई अनुसरण गरेको आधार पनि त्यही समाजवाद थियो तर प्रजातन्त्रको प्राप्तिसंगै समाजको तल्लो तप्कासंगको सम्वन्ध नेताहरुले बिर्से । रोल्पाका मगरहरु देखि तराईका थारु लगायत जनजाती र दलितहरुलाई समेटेर मओवादको नाममा देशमा बिद्रोह भयो । जसमा १५ हजार नेपालीको मरे । कारणहरु बिबिध छन तर ती मध्येको प्रमूख कारणमा ने.का.को समाजवादी अवधारणाको कार्यान्वयन नहुनु एक प्रमुख कारण हो र सो भएको भए सयद देशको अहिलेको परिस्थिती भिन्न हुन्थ्यो होला । 
 
गरिवीले घेरेको दुरदराजका जनताले नेपाली काँग्रेसलाई सधै सहयोग गरे । कृषीमा आधारीत नागरीकले कृषि क्रान्तीको आषा गरेका थिए । कर्णाली र बिकट पहाडी जिल्लाहरुलाई फलफूल र पर्यटक, तराईलाई अन्नको भण्डार, पहाडलाई फलफूल सागसब्जी, पशुपालनको रुपमा रुपन्तरणको आषा गरेका थियो । तर भयो के भने कर्णाली र दुर्गम पुरै पर निर्भर । सधै उसिना चामलको लाईन लाग्नु पर्ने । पहाड पुरानै तवरमा चल्यो । दुर्गमवाट पढेलेखेकाहरु वसाई सराई गरि सुगममा जानु पर्ने वाध्यता । फलस्वरुप सहर र तराईमा धान्न नसक्ने जनघन्त्व बढ्यो । बेरोजगारीहरु बढे । देशले रोजगार दिन नसकेर यूवाहरु खाडी र अन्य मुलुक धाउन थाले । आज पनि प्रति दिन १५०० यूवाहरु विदेशी रहेको बिकराल अवस्था छ । 
 
गरिवीका नाममा बिभिन्न गैर सरकारी संस्था र बिदेशी सहयोग र प्रविधि भित्रियो । यसले समाजवाद नीति भन्दा पनि पुजिवादी अर्थतन्त्रलाई बढवा दियो । कुरा उहि भयो वी.पी.ले भने सरह गरिव झन गरिव भए धनीहरु मालामाल भए । 
 
यो समय भनेको नेपाली काँग्रेसको निती तथा कार्यक्रमको खोज तथा अनुसन्धान गर्ने समय थियो । नयाँ नयाँ बिचारले समाजवादी चिन्तनलाई खार्नु पर्ने अवस्था थियो । तर भएन । वी.पी.का बिचारलाई नीजि र पारिबारिक सम्पतिको रुपमा हेर्ने चलन बढ्यो । सत्तालोलुपताले नेताहरु बिचारको लडाई भन्दा पनि कसरी आफ्नै नेतालाई पछार्ने भन्ने दाउ रच्न थाले । नेपालको प्रजातान्त्रीक आन्दोलनमा सहभागी नभएका र समाजवादी चिन्तन नभएका परिवारका आसेपासेहरु अमेरीका बेलायत देखि गएर वालुवाटर घेरेर बसे । बिकटबाट दुख: ल्याएर आफ्नो प्रधानमन्त्री भेट्न महिनौ लगाएर आएका गाउँलेहरु भेटै नदिलाइर पर्काईए । आजीवन संघर्ष गरेका नेतालाई थाङ्नामा सुताउने काम भयो । पार्टीमा सभामुख, उप-प्रधान भैसकेकाले पनि फेरी मन्त्री, राज्यमन्त्री जे भएनि कुर्ची भए पुग्छ भन्ने चलन हावी भयो । जसले पार्टीलाई ठुलो असर पुग्यो । कार्यकर्ताहरुमा नैरास्यता आयो । यसैको उपयोगगरी नेपाली काँग्रेसको प्रजातान्त्रि समाजबादी अवधरणा र कम्यूनिज्मको फ्यूजनवाट जनताको नौलोजनवादको उदय भयो । असहजताको फाईदा उठाई मओवाद जन्म्यो, जातीयता र भागबण्डाको राजनितीको बिजारोपणको सुरु भयो । 
 
पार्टीमा शुसासन र बिचारको प्रवाहमा केहि अलमल भएपनि, समाजवादी राष्ट्र विकासको निर्माणमा धेरै गर्न नसकेपनि  नेपालमा अझै सुनौलो अवसरको अवस्था छ । नयाँ ढाँचाको शासन पध्दतिको कार्यान्वयनको अवस्था छ  र यसै समयमा नेपाली काँग्रेसले १३औं महाधिबेशन गरिरहेको   छ । आषालाग्दो अवस्था के छ भने हिजोका दिन सम्म केन्द्रिय सदस्यहुन दाई, दादा, बाबुजी, हुनु पर्ने ने.का.को बृध्द यूवा नेताको परम्परालाई तोड्दै करीव ५० प्रतिशत भन्दा बढी यूवा जनसक्तीहरु नेतृत्वको प्रतिस्पर्धाको मैदानमा सक्षम छौ भनि दावी गरिरहेकाछन । जो नेपाली काँग्रेसको ईतिहासमै नयाँ आयाम देखिएकोछ ।   
 
बिश्वका बिकसित राष्ट्रहरुमा पनि राजनितीमा लाग्ने यूवाशक्तिहरु सर्वप्रथम त्यसपार्टीको सिध्दान्तको गहिरिएर अनुसन्धान गर्छन र पार्टीमा नयाँ श्रृजनशील बिचार सम्प्रेषण गर्दछन र उनीहरुले नै भावी नेतृत्वको दावी गर्छन । नेपालमा पनि आषाका केन्द्र रहेका यूवाशक्तिले नेपाली काँग्रेसको समाजवादी चिन्तनलाई नया ढंगले अगाडी बढाउन आफ्नो अध्ययनको आधारमा वीपीवादलाई विश्वसामु पस्कन सक्षम हनेछन । यीनै यूवापुस्ताका कर्यकर्ताको नसा-नसाहरुमा प्रजातान्त्रीक समाजवादी रगतको नाता स्थापितभई शरीर र मनले  नेपालका दुरदराज हेर्न सक्ने क्षमता बढ्दै सुकिला र बंशजको नाताले पदबीको दाबेदार बन्नेका खातिर खवरदारी गरि नेपाली काँग्रेसलाई विचार, आदर्श र सिध्दान्तको बैचारीक बाटोबाट डोरयाई प्रजातान्त्रीक समाजवादीको अन्तिम लक्ष्यमा पुग्न सफल हुनेछ । साथै यीनै युवाहरुले पूँजीवादी सोचमा हराई रहेको नेपाली काँग्रेसको समाजवादी चरीत्रलाई १३औ महाधिवेशनवाट खोज्न सफल हुने भन्ने कामना छ ।