मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मेची महाकाली द्रुत राजमार्गको निर्माण – आजको आबस्यकता

मेची महाकाली द्रुत राजमार्गको निर्माण – आजको आबस्यकता


बि सं २०३६ ताक पूर्ब पश्चिम राजमार्गको ( हेटौडा -नारायणघाट खण्डको)  निर्माण भर्खर सकिएर राजमार्गको रुपमा संचालन भएको थियो।३६ बर्षको लामो  अबधिमा,समय अनुकुल आबस्यक पुनर्निर्माण गर्न नसकेकाले मेचीदेखि महाकाली सम्मका विभिन्न सहरहरुमा सबारी साधनहरुको भिड भाडले राजमार्ग  तहस नहस हुन थाली सकेको छ। बुटवल ,कोहलपुर, इटहरी…. ठाऊँ ठाऊँमा राजमार्गलाई चौडा पारि ब्रिक्ष रोपणगर्दै गरेको देख्दा थोरै खुशी  र बढी दुख लागेको छ ।  भर्खरै समाचार सुनिदै छ कि  " पूर्व पश्चिम राजमार्गमा पर्ने रत्ननगरमा पनि निपनि देखि लौरीघोल सम्म को २.५ किमि सडक विस्तार ताम झाम का साथ गरिदै छ "। पूर्व पश्चिम राजमार्गको पूर्व चितवनको यहि भाग तिर आकासे पुल बनाउने समाचार पनि १ बर्ष अघि पढेकै हो । “ मेच माथि बस्ने…ताँती ” २४सै घण्टा निदाएको निदायै छ भन्नेकुराको पुष्टि तलका अनुच्छेदहरुबाट हुने नै छ। पाठक बर्गलाई लाग्न सक्छ " यो मानिस विकास बिरोधि हो "। यथार्थमा त्यस्तो हुँदै होइन भन्ने कुरा प्रष्ट संग बुझ्न निम्न अनुच्छेदहरु अध्ययन गरि विश्लेषण गर्नुहोस ।
 
आज भोलि युरोप,अमेरिका,अस्ट्रेलिया,कोरिया,जापान,मलेसिया नेपालीहरुको लागि पानि पधेरो भैसकेको छ । देशका उच्च तहका नेता र कर्मचारीको उल्लेखित क्षेत्रमा भएका बाक्ला भ्रमण र तिनीहरुका भाषण बाजा गाजा सधैं जसो समाचारमा देख्न,सुन्न,पढ्न पाइञ्छ । साधारण जनताहरुले पनि छोरा छोरी भेट्ने,पढ्ने,काम गर्ने सिलसिलामा  यी ठाऊँ हरुको भ्रमण गरिरहेकै छौं । अब हामीलाई पनि त्यहि ठाऊँहरुको जस्तो छिटो र उपयुक्त सुबिधा पाउन पाए हुन्थ्यो भनेर गफ गर्छौं,विदेशीले बनाईदिन्छ कि भनेर आकासमा उडेको हवाई जहाज तिर आँखा डुलाउँछौं । प्रयास स्वरूप चियॊभन्ज्यांग देखि झुलाघाट सम्म बनाइने मध्य पहाडी राजमार्गको दुरी घटाउने कुरा सुन्दा जानै लागेको साशमा थोरै आशाका किरण पलाए पनि काम हुन नसकेको देख्दा निरास नै हुनु परेको अवस्था छ । यसै सन्दर्भमा  मौजुदा अबस्थामा आफ्नै बाहुबलबाट " दुरदृष्टि, ईच्छा शक्ति ,प्रतिबद्दता र गृहकार्य गर्न सके " तुरन्तै सुरु गर्न सकिने एउटा उदाहरण प्रस्तुत गर्न चहान्छु ।
 
संचालनमा आईरहेको  पूर्व पश्चिम राजमार्ग ( कांकरभिट्टा – महेन्द्रनगर ) लाई कसरि पुनर्निर्माण गर्नु बुद्धिमानि पूर्ण  हुने छ भन्ने कुरा प्रष्ट पार्ने प्रयास गरेको छु । किनकि प्रधानमन्त्रिले नै यो राजमार्गको पुनर्निर्माण (कम्तिमा ४ लेनको ) गर्ने घोषणा गरिसकेका छन् ।त्यतिमात्र गरेर समयको माग पुरा हुँदैन अल्लि लामै समय लगाएर भए पनि द्रुत राजमार्ग बनाउनु पर्छ भन्ने मेरो मत छ । किनकि सहरीकरणको चापले अनि यो राजमार्ग लाई क्रस गर्ने राष्ट्रिय र  सयौं स्थानीय उत्तर दक्षिण सडकहरुले यो राजमार्गलाई थिलो थिलो पारि सकेका छन् ।यो राजमार्ग ४, ६,वा ८ जतिनै लेनको बनेपनि सहरीकरण र उत्तर दक्षिण सडकहरुको कारणले अबका दिनहरुमा सहरैपिच्छे मेची देखि महाकाली सम्मका  सयौं स्थानमा ट्राफिक लाईट नराखी सुख पाईने छैन । ट्राफिक लाईट राख्ने बित्तिकै यो राजमार्ग लोकल सडकमा परिणत हुने कुरामा दुई मत हुन सक्दैन ।आज भोलि करिब २२ घण्टा लगाएर मेचीबाट महाकाली पुग्ने बस  ट्राफिक लाईट राखे पछि ३२ घन्टामा पनि पुग्ने छैन ।तसर्थ द्रुत राजमार्ग निर्माणगर्ने कामको थालनी गर्नु आजको टट्कारो आबस्यकता हो।
 
तत्काल के गर्नु पर्छ त !
 
१ यो राजमार्गको कोहलपुर ,बुटवल ,रत्ननगर , जस्ता विभिन्न स्थानमा भै रहेका  राजमार्गलाई चौडा बनाउने
  कार्यहरुको तुरन्त पुनराबलोकन गर्ने र आबस्यकता बमोजिम डिजाईनमा परिमार्जन गर्ने ।
 
२ यस्ता महत्वपुर्ण ठाऊँमा निर्माण वा पुनर्निर्माण गर्दा १०० बर्षसम्मको दुरगामी प्रभाब र समस्याहरुको विश्लेषण गरि समाधानका उपाय पत्ता लागएर योजना तर्जुमा गरि बजेट खर्च गरेर गरिब मुलुकको पैसा  दुरुपयोगहुन बाट बचाउनु पर्छ।
 
३ मेची देखि महाकाली सम्मका ठुला सहरहरु भित्रबाट बनेको यो राजमार्गलाई अब सम्भब भए जति ठाऊँमा (सहर)  बाईपास निर्माण गरि सहरको बाहिरबाट लग्नु आजको आबस्यकता हो । उदाहरणको लागि भरतपुर र नारायणघाटलाई बाईपास गर्न पूर्व र पश्चिम चितवनलाई छुट्याउने जंगलको पश्चिम पट्टिको बिन्दु (कोकाकोला फ्याक्ट्री ) बाट जंगलको किनारै किनार उत्तर गएपछि नारायणघाट मुग्लिङ्ग र देवघाट सडकको ईन्टर सेक्सनलाई प्रयोग गर्दै २ किमि जति देवघाटतिर गएपछि नारायणी नदीमा (नारायणी नदीको सबै भन्दा छोटो स्पान भएको ठाऊँ) नयाँ पुल निर्माण गरि डाँडाको किनारै किनार गैडाकोट सहरी क्षेत्रलाई पनि बाईपास गर्दै हनुमान मन्दिरको केहि पूर्व पट्टि साबिकको राजमार्गमा जोड्न सकिञ्छ। 
 
४  यो राजमार्गमा पर्ने बजारीकरण भैसकेका क्षेत्रको रेकर्ड तयार गरि बाँकि रहेका सम्पूर्ण क्षेत्रमा राजमार्गलाई आँगन बनाएर ब्यापारिककेन्द्र खोल्ने परिपाटी लाई पूर्ण प्रतिबन्ध लगाई राजमार्गको दुवै किनारमा (सेन्टर लाईन बाट दुवै तिर २५/२५ मिटरमा ) बार लगाउने काम सुरु गरि हाल्ने । 
 
५  यो राजमार्गमा पर्ने बिर्तामोड,चन्द्रनिगाहापुर्,रत्ननगर जस्ता अनेकौं सहरी क्षेत्रमा सडक विस्तार गर्दा कुल ५० मिटर मध्ये एक्सप्रेस वे को लागि बिचमा २३ मिटर छोडी दायाँ १३.५ मिटर र बायाँ १३.५ मिटरमा मात्र  २/२ लेनको सडक, फुटपाथ,बाईकलेन बनाई ग्रीनबेल्टको पनि व्यवस्थापन गर्नु पर्छ ।
 
६  यी बजारी क्षेत्रमा एक्सप्रेस वे को उचाई करिब ६ मीटरको बनाई आबस्याकता अनुसार एक्सप्रेस वे को लागि करिब १४ मिटर लामा पुलहरु निर्माण गरि त्यसको मुनिबाट उत्तर दक्षिण सडकहरुलाई पास गर्नु पर्छ । ग्रामिण क्षेत्रमा भने करिब प्रति २ किमीको दुरीमा यसै बमोजिम उत्तर दक्षिण सडकहरुलाई एक्सप्रेस वे मुनिबाट पास गरि आवागमनलाई सहजीकरण गर्नु पर्दछ ।
 
७  सहरी क्षेत्र भरि करिब ६ मिटर आग्लो एक्सप्रेस वे निर्माण गर्नु परे पनि अन्य क्षेत्रमा भने साबिककै राजमार्गको उचाईमा एक्सप्रेस वे निर्माण गर्न सकिञ्छ ।एक्सप्रेस वे प्रयोग गर्ने सबारीको गतिलाई अबरोध हुन नदिन एक्सप्रेस वे को दुवै किनार मा कम्तिमा २.५ मिटर अग्लो कंक्रिट वाल लगाई २ वटै वालको बाहिर (दायाँ बायाँ) बाट २/२ लेनको  राजमार्गको निर्माण गर्नु पर्छ।
 
८  हाल राजमार्गको विस्तार हुँदै गरेका उल्लेखित सहरहरुमा र अरु अनेकौं सहरमा राजमार्ग विस्तार गर्दा एक्सप्रेस वे कोलागि  दायाँ बायाँ बनाउन पर्ने कंक्रिट रिटेनिंग वालको फाउन्डेसन पुरा गरि  कम्तिमा पनि जमिन बाट १.५ मिटर माथि उठाई बिचको २३ मिटरमा माटो भरेर कम्प्याक्सन गरि दुबो उमार्नु पर्छ।
 
९  यो राजमार्गबाट गुड्ने सबारी साधनहरुलाइ रोक्न ,यात्री चडाउन ,ओराल्न राजमार्ग भन्दा बाहिर छुट्टै पार्कहरुको निर्माण गरि सौचालय हरुको पनि राम्रो व्यवस्था  मिलाउनु पर्छ।
 
१०  आजको १५  बर्ष भित्र  एक्सप्रेस वे को दायाँ र बायाँ बाट २/२ लेनको नयाँ राजमार्ग ( प्रधानमन्त्रीले घोषणा गरेको) बनाइ सक्नु पर्छ । अर्को १० बर्षमा आज को २५ बर्ष पछि जमिन भन्दा माथि निर्माण गर्न बाँकि रहेको एक्सप्रेस वे को कार्य सम्पन्न गरि आज भोलि २२ घण्टामा  मुस्किल संग  गरिने मेची -महाकालीको बस यात्रालाई १३ घण्टामै ठाऊँ ठाऊँमा खाजा खाँदै आराम दायी ढंगले पुरा गरौँ।
 
११ यति गर्न सके ९ घण्टा (१ दिन ) को दुरी कम हुने मात्र होइन,आजको झन्डै १०० बर्ष सम्म मुलुकको यातायात सुब्यबस्थित ढंगबाट संचालन गर्न कुनै कठिनाइ पर्ने छैन ।यो एक्सप्रेस वे एक तर्फी २ लेन र १लेन बराबरको सोल्डर एक साईडमा र अर्को साईडमा करिब १/२ लेनको सोल्डर बनाई निर्माण गर्न सके युरोप अमेरिकाको एक्सप्रेस वे भन्दा कुनै पनि हिसाबले कम्तिको हुने छैन (१०.५ +१०.५ = २१ मिटर फराकिलो ) । जम्मा ५० मिटरको चउडाईमा यो भन्दा बढी गर्न सकिञ्छ जस्तो लाग्दैन । 
 
१२  प्रधानमन्त्रि ज्यु ७ /८ बर्ष देखि द्रुत मार्गको प्राक्टिस गर्ने प्रयास गर्न थालेका हामीलाई यो आयोजना थाल्न साईत जुराउन किन पर्यो र ! बजेट हामीले जथाभाबी खर्च गरि रहेकै छौं ( सानो उदाहरण प्रति संसद सदस्य १ करोड,आदि आदि आदि………) मुआब्जाको फन्दा यसमा छैन,जनशक्ति प्रयाप्त मात्रामा छ,मात्र गर्नु पर्ने ब्यबस्थापन हो ।
 
१३ प्रधानमन्त्रिले घोषणा गरेको काम १० बर्ष भित्र सकेर एक्सप्रेस वे निर्माण गर्न पैसा कोलागि देश विदेशमा भएका नेपाली हरुलाई आह्वान गरे खुशी भएर लगानी गर्ने नै छन्। त्यो अबस्थामा बिदेशी लोन लिनै परे पनि सजिलो  हुने छ ।
 
समयमै बुद्धि नपुर्याए निर्माण गर्ने र भत्काईरहने घिनलाग्दो प्रक्रियामा अरबौं खर्च भईरहने तथा दशकौं लामो अबधिमा पनि परिणाम भने हात लागि सुन्य भई स्नातकोत्तर र बिध्याबारिधि पहिरिएका मेच माथि बस्ने विद्वानहरुको विद्वता केवल " ढुकुटी रित्याई मुलुकलाई कंगाल बनाउने काममा मात्र प्रयोग भएको " पुष्टि हुनेछ ।
 
असम्भव लाग्ने अरबका मरुभूमि हराभरा हुँदैछन,युरोप अमेरिकाका हिमभूमी संसारका सबै भन्दा सुविधाजनक बस्ति बनेका छन् । विकास हवाई जाहाजबाट ओर्लिदैन ।  दुरदृष्टि, ईच्छा शक्ति ,प्रतिबद्दता र गृहकार्य गर्न सके सम्भव  नहुने केहि छैन । चेतना भया …………!!! 
 
(लेखक नेपालको सडक तथा पुल निर्माणको क्षेत्रमा २३ बर्षको अनुभबी र हाल सिकागो अमेरिकामा निर्माण कार्यको क्वालिटि कन्ट्रोलमा संलग्न हुनुहुञ्छI इमेल: [email protected])