मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

केपीकिरणको एक्लो प्रयासमा चेपाङ संग्रहालय

केपीकिरणको एक्लो प्रयासमा चेपाङ संग्रहालय


चितवन, ७ माघ । चेपाङ बालबालिकाको शिक्षा–दीक्षामा समर्पित हुँदै आएको गामवेशीको चेपाङ छात्रावास अहिले चेपाङ सङ्ग्राहलयको रुपमा विकसित हुँदै गएको छ । 
 
चितवन, धादिङ र मकवानपुर मुख्य वासस्थान रहेको यस जातिको दैनिक जीवनका साथै विभिन्न सभा समारोहमा प्रयोग हुने वस्तुको संरक्षण गर्न गामवेशीको चेपाङ सङ्ग्राहलय स्थापना भएपछि यस ठाउँ अहिले पर्यटकको गन्तव्य बनेको छ । ‘चेपाङ जातिको जन्मदेखि मृत्युसम्म प्रयोगमा आउने वस्तुहरु सङ्ग्रह गरेको छु’ सङ्ग्राहलयका प्रमुख केपीकिरण शर्माले भने, ‘विस्तारै लोप हुने अवस्थामा रहेका चेपाङ जातिको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सङ्ग्राहलय स्थापना गरेको हुँ ।’
 
उनले २०६९ सालबाट वस्तुहरुको संकलन गर्न थालेका हुन् । हाल चेपाङ जातिले दैनिक प्रयोगमा ल्याउने २ सय बढी वस्तुहरु संकलन गरेको जानकारी दिँदै शर्माले भने, ‘गाउँगाउँमा गएर थप खोजी गरी निकट भविष्यमा ५ सय बढी प्रकारका वस्तुहरु संकलन गर्ने लक्ष्य लिएको छु ।’ चेपाङ जातिले उपचारमा प्रयोग गर्ने जडीवुटी (पाखनवेद, सिकारीलहरा), झाँक्री बस्दा प्रयोग हुने ढ्याङग्रोलगायतका सामग्री सङ्ग्राहलयमा रहेका छन् ।
 
खाना पकाउन, पानी ओेसार्न र घामपानीमा ओत लाग्न प्रयोग हुने सामान पनि छन् । उनले ठाउँ अभावले गर्दा अहिले छात्रावासकै एउटा कोठामा खचाखच हुने गरी सामानहरु राखेको बताए । त्यस्तै, गिठ्ठा खोज्न प्रयोग हुने औजार र चिउरी पेल्न प्रयोग गरिने कोल पनि सङ्ग्राहलयमा रहेका छन् । त्यस्तै चेपाङ जातिको जन्म, छेवर (व्रतबन्ध), विहे र मृत्यु संस्कारमा प्रयोग हुने विभिन्न सामानहरु पनि सङ्ग्रालयमा राखिएका छन् ।
 
‘छात्रावासमा रहेका चेपाङ बालबालिकालाई खाना खुवाउन र अन्य सहयोग गर्न आउने कतिपय मानिसहरु यस सङग्राहलय देखेर दंग पर्ने गरेका छन्, शर्माले भने, ‘यस सङ्ग्रालय घुम्नका लागि सौराहा आएका पर्यटकहरु पनि यहाँ आउने गरेका छन् ।’ संग्राहलयमा राखिएका सामानहरुबारे थाहा पाएर अन्य व्यक्तिहरु पनि घुम्न आउने गरेको शर्माले बताए । ‘राज्यले गर्नुपर्ने काम व्यक्तिबाट भइरहेको छ,’ केन्द्रका उपाध्यक्ष प्रकाशमणि सापकोटाले भने, ‘यहाँ स्थापना गरिएको संग्राहलयको संरक्षण गर्ने दायित्व सबैको हो ।’
 
चेपाङ समुदायको दैनिक जीवनमा प्रयोग हुने सामग्रीको सङग्रह गरेका केपी शर्माले यसको व्यवस्थित संरक्षणका लागि राज्य जिम्मेवार र सहयोगी हुनुपर्ने बताए । चितवन शक्तिखोरमा पनि चेपाङ सङग्राहलय भनी केही मात्र सामानहरु राखिएका छन् । चेपाङ प्रधानपञ्च वीरबहादुर चेपाङले सुन्ने गरेको रेडियोसहित अन्य सामग्री उनले सङ्ग्राहलयमा राखेका छन् । गामवेशीको चेपाङ संग्राहलयमा राखिएका चेपाङ समुदायको जीवनमा प्रयोग हुने सामानहरु । स्थान अभावले गर्दा सामानहरु खचाखच रुपमा राखिएका छन् ।