मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

९० करोड बोनस बाँड्दै आयल निगम

९० करोड बोनस बाँड्दै आयल निगम


काठमाडौँ, १ माघ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दिनहुँजसो घटेको घट्यै छ । तर नेपालमा पेट्रेलियमको मूल्य समायोजन नगरी उच्च मुनाफा कमाएको नेपाल आयल निगमले झन्डै एक अर्ब रुपैयाँ बोनस बाँड्ने चर्चा चलेको छ । 
 
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा गत वर्ष १५ अर्ब रुपैयाँ नाफा कमाएपछि ९० करोड रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको हो ।
 
निगमको लेखापरीक्षण प्रतिवेदनअनुसार कर्मचारी बोनसका लागि ९० करोड रुपैयाँ छुट्याइएको छ । जबकि निगमको नाफामा कर्मचारीको दक्षता, सुधारलगायतको कुनै भूमिका नै छैन । यसलाई अन्तर्राष्ट्रिय मूल्यले मात्र प्रभाव पारेको हो ।
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एघार वर्षकै न्यूनतम विन्दु प्रतिब्यारल ३० डलरको हाराहारीमा झरेको छ । गत वर्षभरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ६० अमेरिकी डलरभन्दा कममा कारोबार भएको थियो । 
 
तेलको मूल्य घटिरहे पनि विगत चार महिनादेखि नेपाल आयल निगमले भने मूल्य घटाएको छैन । भारतले गरेको नाकाबन्दीको कारण देखाउँदै अन्तर्राष्ट्रिय बजारअनुसार निगमले मूल्य नघटाएको हो । निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मुल्य समायोजन नगरी उच्च नाफा बढाएको हो ।
 
सरकारी स्वामित्वको निगमले २० प्रतिशतभन्दा बढी मुनाफा लिने गरेको छ, जबकी कालोबजारी ऐनअनुसार २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने प्रावधान छ । 
 
निगमले तयार पारेको लेखापरीक्षण प्रतिवेदनलाई बुधवार बसेको निगमको संचालक समिति बैठकले अनुमोदनसमेत गरिसकेको छ । तर सञ्चालक समिति बैठकले तत्कालै बोनस बाँड्न भने नपाउने निर्णय गरेको छ । सञ्चित नोक्सान सकिएपछिमात्रै बोनस लिन पाउने निर्णय सञ्चालक समितिले गरेको छ । 
 
आर्थिक वर्ष २०६५र६६मा झन्डै पाँच अर्ब नाफामा जाँदा निगमले एक करोड ७१ लाख ५८ हजार चार सय पाँच रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको थियो । संञ्चित नोक्सानी भएको सरकारी संस्थाले बोनस बाँड्न नपाउने निर्णय अर्थ मन्त्रालयले गरेपछि रोकिएको थियो ।
 
तत्कालिन अर्थसचिव रामेश्वर खनालले संञ्चित नोक्सानी भएका सरकारी संस्थाले बोनस खान नपाउने निर्णय गरे पनि कर्मचारीको दबाबमा दुई वर्षअघि निगमले बोनस बाँडेको थियो । बोनस बाँडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोनस वितरण गरी भष्ट्राचार गरेको अभियोगमा तात्कालिन कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहितका २० जना कर्मचारीलाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो । पछि कर्मचारीले बोनस रकम फिर्ता गरेका थिए ।
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमले सरकार बाहेकको ऋण चुक्ता गरिसकेको छ । लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको ऋण १२ अर्ब रुपैयाँमात्रै तिर्न बाँकी देखिएको छ ।