मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नयाँ शिराबाट नेपाल-भारत सम्वन्धको खोजी नै नेपालको समृध्दिको सुरुआत: बलायर ‘प्रत्याशी’

नयाँ शिराबाट नेपाल-भारत सम्वन्धको खोजी नै नेपालको समृध्दिको सुरुआत: बलायर ‘प्रत्याशी’


नेपाल र भारतको सम्बन्धको इतिहाँस जति नै पुरानो र निकट भनेर चर्चा परिचर्चा गरिन्छ, त्यति नै बिबादास्पद र शंकाका दृष्टिले हेर्ने गरिन्छ । यसका बिभिन्न पाटाहरुमध्ये भारतले मित्रताका नाममा देखाउने लोभीपापी मन अन्तरगत बेलाबखतमा नेपाली भूमीमा गर्ने अतिक्रमण र सिमास्तम्भ सार्ने काम, भारतमा रहेका नेपाली मुलका भारतीय नागरीकहरु बसोवास गर्ने मणिपुर, आसाम, सिक्किम, दार्जलिङ्गवासीहरु प्रतिको भेदभाव, भुटानीमूलका नेपालीहरुलाई भुटानवाट डाँडोकटाउन खेलेको खलनायक भूमिका र नेपालका प्राकृतिक सांस्कृतिक सम्पदामा आँखा लगाई राजनैतिक हस्तक्षेप गरेका उदाहरणहरु नै प्रमुख कारकहरु देखिएका छन् ।

 

भारत बिश्वमा उदयमान राष्ट्रको रुपमा अघि बढ्न खोजेको परिप्रेक्षमा दक्षिण एशियाबाट नेतृत्वदायी भुमिका निभाउँदै अगाडी बढ्नु पर्नेमा कुटिल परराष्ट्र नीति कारण छिमेकीहरुले भारतलाई अभिवाकत्व भन्दा पनि सतर्कता र शंकाका दृष्ट्रिकोणले हेर्ने गर्दछन । यसका कारणहरु मध्ये भारतको छिमेकीसंगको सत्रुता, छिमेकी राष्ट्रहरुमा गृहयुध्द गराउन खेलेको भूमिका, भुटानी नागरिकको देशनिकालामा गरेको सहयोग लगायत नेपालको आन्तरीक मामिलाको पृष्ठभूमीमा बस्दै बन्दुक र बारुदको सहयोगीका साथै सेल्टरको ब्यवस्थापक जस्ता कार्यहरु लगायत हाल आएर तराईमा रहेका नेपालीहरुलाई उचाली देशको आन्तरिक मामिलामा पारेको खलल जस्ता अप्रजातान्त्रिक कार्यहरु पर्दछन । यसले हाल नेपालीहरुलाई सास्ती परेको देखिन्छ तर भविष्यमा यसको असर भारतको अमन चयनमा समेत चुनौती हुन सक्छ ।  यसैले हाल नेपालमा रोपेको जातीवादी वीजको दरारले भारतको समाजमा पनि बाघ पल्केको डरलाग्दो परिस्थिती श्रृजना भै राज्यहरुमा तबाही मच्चिन सक्छ ।

 

नेपालीहरुको मनोबिज्ञान भारतीय रबैयावाट त्रसित र सतर्क रहेको अवस्थामा भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका क्रममा ब्यक्त बिचारले नेपालीको मन जित्न सफल भएका  थिए । तर त्यसको बर्षदिन नबित्दै नेपालमा जुन किसिमले भारतीय नाकाबन्दीले  भुकम्पवाट थलिएका जनताहरुको दु:खमा नून खुर्सानी छर्कने काम भयो त्यो अमानवीय कार्यका लागि भारतले लगाएको गुन माटोमा मिसिन पुग्यो जसलाई  दैवले पनि माफ गर्ने ठाउँ छैन । कुनै पनि देशको सार्वभौमिकता र अखण्डतामा औला उठाउदै आन्तरिक मामीलामा हस्तक्षेप गर्नु भनेको अधिकार सम्पन्न देशका नागरिकहरुलाई स्वीकार्य हुदैन भन्ने कुरा बुझेर पनि भारतले नेपालमा घटाएको पछिल्लो घट्नाक्रमले मित्रताको दरार झनै बढेको छ ।

 

नेपालको तराई क्षेत्र विगत देखि नै केहि बर्गको अधिनस्त रहदै आएको छ जसमा सिमित साहु, महाजन, जमिन्दार र अंगिकृत नागरिकता वाहकहरुले दवदवापूर्ण रुपमा सामाजिक-राजनैतिक नेतृत्वमा अधिपत्यता जमाएको देखिन्छ । बिगतलाई कोट्याएर हेर्न हो भने प्रजातन्त्रको आगमन र संघीय शासनको सुरुआत भन्दा अगाडी सम्म नत कुनै निम्न बर्गीय मधेशीले राज्यको कुनै पद नै पाएको देखिन्छ नत जिल्ला र गाँउस्तर मै कुनै सरकारी तथा गैरसरकारी निकायमा यस बर्गको पहुँच नै स्थापित भएको अवस्था छ । तराईका डुम, मुसहर, चमार आदी जनजातीहरुका नाममा ससुराली आएका ज्वाँईहरुवाट रजाई चलिरहेको हाम्रो मधेशलाई राज्यले जति उपेक्षा गरेको छ त्यो भन्दा बढी सामन्ती संस्कारका महाजन र ज्बाँई साहेबहरुबाट भइरहेको छ । र आज आएर सम्वैधानिक अधिकारका नाममा राज्य नै छुट्टै भनि माग गरिरहेको अवस्था पनि तिनै वाट श्रृजीत समस्या हो । जसलाई मलजल गरि सहजीकरण गर्ने भुमिका भारतले गरेको देखिन्छ ।

 

नेपाली जनतालाई सम्विधानले समान अधिकार दिएको छ, छैन? र कत्तिको समावेशी सम्विधान छ? भन्ने कुराको निर्क्योल गर्ने अधिकार नेपाली जनतामा निहित अधिकार हो । हालका दिनमा आएर भारतले नेपालको सम्विधान समावेशी छैन भनि दिएका टिप्पणीहरुलाई भारतको सम्विधानसंगै दाजेर भद्र बिश्लेषण गर्न दिएको नेपालको कुटनैतिक चुनौतिमा चुप रहेको भारतले नेपाली उचालेर धमिलो पानीमा माछा मार्न खोज्नु अशोभनिय कार्य हो । साथै नेपालको सम्बिधानको बारेमा बोल्ने भारतले किन भारतीयहरुलाई समाबेशी र सामाजिक न्यायका दृष्टिले हेर्न भ्याएको छैन ? जातीय, वर्गीय, धार्मीक धरातलवाट भारत किन माथि उठ्न सक्दैन? कास्मीर होस या गुजरातमा किन सैंयौले ज्यान गुमाए र गुमाउँदैछन? किन एक पियनको नौकरीका लागि हजारौंको (जसमा पि.एच.डी. गरेकाले पनि आवेदन दिइरहेकान छन) दरखास्त पर्दैछ ?  

 

नेपालमा कुनै जात-जातीको अधिकारको हनन भएको, समाबेशीता र सामाजिक न्यायको निगरानी गर्ने निकाय राष्ट्रसंघ हो र त्यसमा भारतको किन टाउको दुखाई? हैन भने नेपालमा रहेका हरेक तप्काका नागरिकहरुको अधिकार क्षेत्रको निर्णय गर्ने काम नेपाल सरकारको हो जसका लागि भारतको हस्तक्षेप औचित्यहिन छ । के नेपाली मूलका भारतीय ज्वाँईहरु भारतमा कुनै सभासद र उपल्लो निकायमा रोजगरी पाएका छन ? हैन भने नेपालको नागरीक भैसकेका नेपाली ज्वाँईहरुका लागि किन भारतले नेपालको सदियौं पुरानो सम्बन्धमा दरार ल्याउन खोज्दैछ? पक्कै पनि केहि स्वार्थ र भारतको हेपाहा पारा नै हो, जो एक्काईसौं शताव्दीमा पनि भारतले  बुझ्न अझै गल्ती गर्दैछ ।

 

भारतले नेपालप्रति ऋषिमनले हेर्ने हो भने पक्कै नेपालको बिकासको ढोका खुल्न सक्छ र भारत पनि समृध्द हुन सक्छ । तर सधैं ब्यापार घाटामा चलेकोलाई ठूलो माछाले सानो माछालाई नीले सरह नेपालको अर्थतन्त्रमा एकलौटी अधिपत्यता स्थापित गरेको भारतले नाकाबन्दी जस्तो अमानवीय कार्य गरि आजको २१ औं शताब्दीमा कल्पनासमेत गर्न नसकिने गम्भिर मानबीय संकट ल्याउन लागेको संकेत देखिएको छ । तीन महिना देखि केटाकेटीहरु स्कुलजान बाट बन्चित भएकाछन, अस्पतालहरुमा औषधीको चरम अभाव भईरहेको छ, मजदुरहरुले काम पाएका छैनन, कलकारखानाहरु बन्दछन, ईन्धनको अभावले घरका चुलाहरु निभेको अवस्थाले देशमा भूकम्प भन्दा धेरै गुणा क्षति पुगेको छ । ऋषिमनको कुरा गर्ने भारतको कथित ज्वाँईहरु प्रतिको झुकाबले आज तमाम नेपालीहरुले दु:ख ब्यहोर्नु परेकोछ । के भारत र नेपालको सदियौंको सम्वन्धको प्रतिफल यही हो ?

 

नेपालमा जहिले पनि अस्थिरता कयम गर्नमा भारतको ठूलो हात छ । २००७ सालको प्रजातन्त्रको प्राप्तिलाई नेपालीहरुले संस्थागत गर्ने क्रममा नेपालका प्रजातन्त्रवादीलाई एक प्रजातान्त्रिक देशका नाताले सहयोग गर्नुको सट्टा एकदलीय शासनका ठेकेदारहरुलाई पृष्ठपोषण गर्नु, २०४६ साल पछि निहित स्वर्थसिध्दिमा गोलाबारुद र सेल्टरको सहयोगी बन्नु र हाल तराईमा खुलेरै समर्थन गर्नुको मुल मर्म नै नेपालको बिकासको गतीलाई रोक्ने प्रयास हो । यदि नेपालका बिकासका पाईलाहरु अधि बढेमा नेपालको परनिर्भरता हट्ने र भारत भन्दा सम्पन्न भए भारतका गरीब सिमा जोडिएका राज्यले भारतको बिरोध गरी भारतमा अस्थिरता कायम हुने डरले भारतले जहिले पनि नेपालमा राजनैतिक तरलता कायम गरी स्रोतसाधनको दोहुनु गर्ने गर्दछ भने अर्को तर्फ नेपालमा शान्ति र स्थायित्व कायम भएमा बैदेशिक लगानी भित्रीएर भारतीय ब्यापारीहरुको एकललुटको अन्त्यहुने डरले भारत नेपालको जहिले पनि शान्तीको बाधक रहेको छ । जो भारतको नेपालले राखेको शान्तीक्षेत्र प्रस्ताव देखि हाल सम्मका क्रियाकलापवाट प्रष्ट देखिन्छ । के एक मित्र देशले अर्कोको भलो गर्ने ऋषीमन यही हो ?

 

नेपाली बीर गोर्खाहरुले भारतको स्वाधिनताको रक्षाको लागि आफ्नो ज्यानको आहुती दिईरहेका छन । आज भारतको कारिकलको लडाई देखि जम्मु कास्मिरको लडाई सम्म नेपाली बीरहरुले भारतका उपर ढाल बनेर रक्षाकवजको काम गरिरहेको परिप्रेक्षामा नत उनीहरुले भारतमा नै कुनै राजनैतिक अधिकार नै मागेका छन नत कुनै अन्य  । एक छिमेकीको असल मित्रताको नाताले रोटी-बेटीको सम्बन्ध भन्दा माथि उठ्दै ज्यानको बाजीलगाएर सच्चा मित्रता देखाइरहेका बीरहरुको आत्मियता नबुझेको भारतले तिनै गोर्खाका केटाकेटी र बुवा-आमाको किनेर खानपाउने अधिकारमा समेत नाकाबन्दी गरि लाजमर्दो काम गरेकोछ । के मित्रताको परिचय यहि हो? के भारतको सच्चा मित्रताको धर्म यो नै हो त ? हैन भने नेपालले पनि भारतसंग मित्रताको नयाँ परिभाषा खोज्नु पर्दछ ।

 

नेपालमा यो समेत गरी तीन पटक सम्म भारतले नाकाबन्दी गरि सकेको र नेपालले आत्मतिर्भरताका उपायहरु अवलम्बन गर्नु पर्नेमा  उल्टो स्वदेशमा भएका सिमेन्ट, फलाम, जुटमील, कपास, चुरोट आदि कलकारखानाहरु बन्दगरी भारतको परनिर्भरता बढाएको अवस्थाले अहिलेको जटिल समस्या आएको देखिन्छ । हुनत नेपालीहरुले बिगतमा पनि पाठ नसिकेको हैन तर यसपालीको नाकाबन्दीले सचेत नेपाली जमातलाई झनै चेतना ल्याएको छ जसले नेपालको भारत संगको नीतिमा फरक दृष्टिकोण बिकसित भएको देखिन्छ भने अन्य छिमेकी देशहरुसंगको सामिप्यता र ब्यापार सम्बन्धमा निकटता स्थापित गर्ने सम्भाबना बढाएको छ । तर नेपालले स्पष्टरुप मै भारतले पटक पटक गरेको नाकाबन्दी र भूपरिवेष्टित राष्ट्रको अधिकारको हनन बारे राष्ट्रको पोजिसन पेपर तयार गरि राष्ट्रसंघमा लिखित आवेदन दिने आँट पनि गर्नु पर्दछ । यसवाट क्षणिक रुपमा नेपालीले कष्ट भोग्नु परेतापनि भविष्यमा भारतको एकलौटि अधिपत्यताको समाप्ति हुन जान्छ । साथै नेपालको भावी दृष्टिकोण भनेको रोटी-बेटी भन्दा पनि राष्ट्रको समुन्नतीको हिसावले भारतसंगको सम्बन्धलाई नयाँशिराबाट जीत-हारको नभई जीत-जीतको दृष्टान्तवाट विकसित हुनु पर्दछ । जसका लागि औचित्य समाप्त भैसकेका सन्धी सम्झौता लगायत केहि बर्गले भन्ने गरेको सदियौं पुरानो साँस्कृतिक, सामाजिक नाता-सम्वन्ध भन्दा माथि उठेर नेपालले समदृष्टीले सबै छिमेकीसंगको सम्वन्ध बढाउने आँट गर्नु पर्दछ।