मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मदन भण्डारीका छोरीहरु भन्छन्, ‘दासढुंगा घटना र राष्ट्रपति चयन नमिसाइदिनोस्’

मदन भण्डारीका छोरीहरु भन्छन्, ‘दासढुंगा घटना र राष्ट्रपति चयन नमिसाइदिनोस्’


काठमाडौं–निशाकुसुम र उषाकिरण दुवैलाई जेठ ३ को घटनाले अझै पनि झस्काउँछ । त्यस दिन उनीहरुको स्कुल बिदा थियो । उनीहरु मालीगाउँस्थित फुपुको घर गएका थिए । 
 
पछि नक्सालस्थित डेरामा फर्कदा घरभरि मानिस थिए । हुन त उनीहरुको घरमा धेरै मानिस आउनु सामान्य थियो । तर, त्यस दिन सधैभन्दा निकै बढी थिए । निशाकुसुम र उषाकिरण क्रमसः आठ र पाँच वर्षका थिए । 
 
पछि जिप दुर्घटनामा जननेता मदन भण्डारीको निधन भएको समाचार सुनाएपछि उनीहरु पनि भक्कानिए । त्यो उनीहरुको जीवनकै अपुरणीय क्षति भएको दिन थियो । 
 
त्यस घटनाको २२ वर्षपछि बुधबार उनीहरुले सुखद्  समाचार सुने । त्यस बेला विधवा भएकी आमा विद्या भण्डारीलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय ग¥यो । निशा र उषालाई यो खबर भण्डारी स्वंयमले भन्न भ्याएकी थिइनन् । उनीहरुले अनलाइनमा आएको समाचार हेरेर विद्यालाई उम्मेदवार बनाएको थाहा पाएका थिए । 
 
‘पहिला त हामीलाई ममीले भन्नु भएन, पछि घर आएपछि उम्मेदवार बनाउने निर्णय भयो भनेर सुनाउनुभयो । हामीले उहाँलाई बधाई दियौं,’ निशाले भनिन् । 
भण्डारी राष्ट्रपति निर्वाचित हुँदैं गर्दा उनीहरु भण्डारी निवास बानेश्वरमा प्रसन्न मुद्रामा भेटिए । 
 
निशा राजनीतिकशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी छन् भने उषाले भारतबाट एमबीबीएस गरेकी छन् । उनीहरुले आफ्नी आमा राष्ट्रपति भएकोमा खुशी त प्रकट गरे । तर, २२ वर्ष अगाडिको घटना र यसलाई कुनै तरिकाले नमिसाउन र तुलना नगर्न समेत आग्रह गरे । 
 
‘त्यो कसैसँग पनि तुलना गर्न नमिल्ने क्षति हो, अहिले उहाँ राष्ट्रपति भएको विषय त्यो घटनासँग जोड्न मिल्दैंन,’ निशाले भनिन् । 
 
उनीहरु यसलाई अचानक र अपेक्षा नगरेको विषय मान्न तयार छैनन् । निशाकाअनुसार सधैं राजनीतिमा संघर्ष गरेकाले राष्ट्रपतिमा निर्वाचित हुनु यसैको परिणाम हो । 
 
आफ्नी आमा पनि राजनीतिक बुझेको र बुवा पनि नेपालको लोकप्रिय राजनेता भएकाले यसलाई स्वभाविक र खुसीका रुपमा लिएको उनीहरु बताउँछन् । उनीहरुलाई आमा भण्डारीप्रति संविधानले दिएको सीमितताभित्र बसेर काम गर्न सक्ने विश्वास छ । 
 
‘उहाँले राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नसक्नु हुन्छ र गर्नुपर्छ भन्ने हामीलाई लाग्छ,’ दुवै दिदीबहिनीले भने । ‘म उहाँकी छोरी भएर मात्र होइन, एक नेपाली नारी भएर हेर्दा पनि उहाँ राष्ट्रपति हुनु महिलाका लागि गर्वको विषय हो,’ निशाले भनिन् । आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।