काठमाडौँ । आज सेप्टेम्बर ८ अर्थात् अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले छुट्टाछुट्टै जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।
विसं २०३१ सालदेखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो । यो सँगै पछिल्लो समयमा अन्तर्राष्ट्रियरूपमा हरेक सेप्टेम्बर ८ मा मनाइने साक्षरता दिवसलाई पनि भदौ २३ मा मनाउन थालिएको छ । यसैगरी जिल्ला शिक्षा कार्यालय चितवनले आज जिल्ला विकास समितिको सभाहलमा विशेष कार्यक्रम गर्दै छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले हालै प्रकाशमा ल्याएको प्रतिवेदनले विश्वका करिब ६० मुलुकको साक्षरता प्रतिशत अझै पनि ९५ भन्दा कम रहेको देखाएको छ ।
विश्व शिक्षा मञ्च (डब्लुइएफ)ले सन् २००० मा सेनेगलको डकारमा १६४ भन्दा बढी मुलुकको सहभागितामा आयोजना गरेको सम्मेलनले ‘सबैका लागि शिक्षा’को महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेको थियो । विसं २०६८ को जनगणनाअनुसार छ वर्ष र सोभन्दा माथिका उमेर समूहको साक्षरता ६५ दशमलव ९ प्रतिशत छ । यसमा महिला र पुरुषबीचको साक्षरता दरमा २२।६ प्रतिशतको अन्तर छ ।
यसैगरी १५–२४ उमेर समूहको साक्षरता दर ८७ दशमलव ५ प्रतिशत भएको सरकारी आँकडा छ । विसं २०६७ मा सङ्कलित घरधुरी सर्वेक्षणको विवरणले १५ वर्ष र सोभन्दा माथिका निरक्षरको सङ्ख्या ५१ लाख ७३ हजार ९७९ थियो । यसमा महिलाको सङ्ख्या ३४ लाख ३५ हजार ३३६ र पुरूषको सङ्ख्या १७ लाख ३८ हजार ६४३ थियो ।
आव २०६७/६८ देखि २०७०/७१ सम्म सञ्चालन भएको साक्षरता अभियानका कारण अब कुल ३३ लाख ७५ हजार ६०७ जना प्रौढ निरक्षर साक्षर भएको मन्त्रालयका उपसचिव बद्री पाठकले जानकारी दिए । यस अर्थमा अब १७ लाखको हाराहारीमा निरक्षर रहेको मान्न सकिन्छ ।
विसं २००७ को दुई प्रतिशत साक्षरताको तुलनामा यो उल्लेख्य बढोत्तरी हो । त्यसो त त्यसबेला ३२१ माध्यमिक विद्यालय रहेकामा हाल ३५ हजार विद्यालय सञ्चालन भइसकेको तथ्यले पनि यस क्षेत्रको विकासलाई दर्शाउँछ । सरकारले आव २०७१/७२ लाई ‘निरक्षरता उन्मूलन वर्ष’ भनी घोषणा गरेर अहिलेसम्म एक दर्जन जिल्लामा ९५ प्रतिशतभन्दा बढी साक्षर भएका आधारमा पूर्ण साक्षर जिल्ला पनि घोषणासमेत गरेको छ ।
गत वर्ष सिन्धुपाल्चोक र ललितपुरबाट सुरु भएको पूर्णसाक्षर जिल्ला घोषणाको क्रम प्रतिस्पर्धा जस्तो पनि देखियो । यसबाट तथ्याङ्क बढाएर घोषणा गर्ने काम मात्र भएको त होइन भन्ने प्रश्न उब्जिएको छ । रासस
प्रतिक्रिया