मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको पर्यटन व्यवसायले गति लिन सकेन

चितवनको पर्यटन व्यवसायले गति लिन सकेन


चितवन । तराईमा भएको जारी आन्दोलन र लगातारको बन्दले पर्यटन व्यवसाय यतिबेला कमजोर बनेको छ । भूकम्पपछि खस्केको व्यवसाय उठ्न नपाउँदै विभिन्न समूहबाट हुने गरेको बन्द र प्रदर्शनले फेरि थला परेको छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनका पर्यटकीय क्षेत्र यतिबेला सुनसानजस्तै भएका छन् । चितवनका पर्यटकीय नगरी भनेर चिनिने सौराहा, पटिहानी, जगतपुर र मेघौली यतिबेला उठ्न सकेको छैन ।

पर्यटकीय नगरीका होटेल व्यवसायीहरु ७५ प्रतिशत प्याकेजका कार्यक्रमहरु रद्द भएको बताउँछन् । पर्यटकको संख्यामा ९० प्रतिशतले कमी आएको उनीहरुको भनाइ छ । पश्चिम चितवनमा १० वटा स्तरीय पर्यटकीय होटलहरु रहेका छन् । ती होटलहरु अहिले सुनसान बनेका छन् ।

सदरमुकाम भरतपुरबाट झण्डै १५ मिलोमिटरको दुरीमा हरेको पटिहानीका होटलहरुमा पर्यटक आउनेक्रम ज्यादै पातलो छ । ‘कतिपय पर्यटकहरु पटिहानीका होटलहरुमै प्याकेज कार्यक्रमसहित आउने वातावरणको विकास भइसकेको थियो’ क्षेत्रीय होटल संघ चितवन कसरा इकाइका अध्यक्ष गणेश शर्मा पौडेलले भने, ‘अहिले व्यवसाय चौपट नै भयो ।’

भरतपुरबाट झण्डै ३५ किलोमिटर रहेको पर्यटकीय क्षेत्र मेघौलीको गोलाघाटमा पनि अवस्था पटिहानीको जस्तै छ । त्यहाँको पर्यटन व्यवसाय पनि यतिबेला ज्यादै मारमा परेको छ ।

होटल जंगल भिल्ला रिसोर्टका सञ्चालकसमेत रहेका इकाइ अध्यक्ष पौडेलले पर्यटक नआएपछि कर्मचारीहरु बाटो हेरेर बस्नुपर्ने बाध्यता रहेको बताए । भूकम्पपछि यहाँ आउने सबै पर्यटकले प्याकेज कार्यक्रम रद्द गरिसकेका र अहिले बन्दले कुनै प्याकेजका कार्यक्रम नआएको उनले बताए । उनले फाटफुट स्वदेशी पर्यटक मात्र आउने गरेका बताए ।

आर्थिक वर्ष २०७०/७१ मा पश्चिम चितवनबाट २२ सय भन्दा बढी पर्यटकहरु निकुञ्ज प्रवेश गरेकोमा चालु आर्थिक वर्षमा अहिलेसम्म १३८ जना पर्यटकमात्र निकुञ्ज प्रवेश गरेको तथ्याङ्क निकुञ्जसँग छ । १३८ पर्यटकमध्ये पनि अधिकांश स्वदेशी पर्यटक रहेका छन् । यो रेसियोलाई हेर्दा चितवन आउने विदेशी पर्यटकको संख्या अत्यन्तै कमी रहेको छ ।

इन टु दी वाइल्ड इको रिर्सोटका सञ्चालक विनोद शर्माले दाता सम्मेलनले अन्र्तराष्ट्रिय स्तरमा नेपाल असुरक्षित छ भन्ने सम्देश फैलाइएका कारण नेपाल आउने पर्यटकको संख्या कमी भएको बताए ।

सौराहा, पटिहानी र मेघौलीका पर्यटन व्यवसायीहरुले पर्यटकहरुलाई निकुञ्जमा जीप सफारी, राप्ती नदीमा डुंगा सयर, जंगल वाक, हात्ती सफारी, थारु कल्चर कार्यक्रम प्रदान गर्दै आएका छन् । निकुञ्जले वर्षाको समयमा पर्यटकहरुलाई निकुञ्ज प्रवेशमा रोक लगाएका कारण सेवा प्रदान गर्न नसकेको कसरा जंगल रिसोर्टकी म्यानेजर गौरी मालाकारले बताइन् ।