मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पारस खड्कालाई गायक, अन्जु पन्तलाई खेलाडी बनाउन खोजेको भए…

पारस खड्कालाई गायक, अन्जु पन्तलाई खेलाडी बनाउन खोजेको भए…


केही महिनाअघि एउटा एफएममा जागिरको अन्तरबार्ता दिने क्रममा मलाई प्रश्न सोधिएको थियो- पत्रकारिता तपार्इको रहर कि बाध्यता ? आज भन्न चाहन्छु पत्रकारिता पढ्नु र पत्रकारिता गर्नु मेरो रुची हो, मेरो रहर हो र  अब यो मेरो आवस्यकतामा परिणत भैसकेको छ, भलै म अहिले पत्रकारिताको पहिलो खुड्किलो चालिरहेकी छु पेशागत हिसाबले ।
 
आज म त्रिभुवन विश्वविध्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता स्तानाकोत्तर दोश्रो सेमेस्टरमा प्रथम भएकी छु । आजको दिन मेरो जीवनमा आउनुमा मेरा परिवार, आफन्त, नातेदार, गुरुहरु, सहयोगी, शुभचिन्तक र साथ दिनु हुने सबैलाई सम्झिन चाहन्छु । अनि मलार्इ हरसमय प्रेरणा र माया दिने मेरा आमाबुबालाई भन्न चाहन्छु – “आमाबुबा, यो सफलता हजुरहरुको हो ।
 
मेरो लेखका यी हरफहरू पढ्ने बितिक्कै लाग्न  सक्छ, कोही सामान्य मान्छेको जीवनका कथा किन पढ्ने ? तर, म त केवल प्रतिनिधि पात्र हुँ । आज पनि सरकारी स्कुलले एसएलसीमा ल्याउने नतिजा हेर्ने हो भने मेरोजस्तै अवस्थाबाट गुज्रिएका धेरै बिद्यार्थीहरु होलान्, ती सबैका लागि यो लेख केही हदसम्म अर्थ बोकेको हुन्छ भन्ने मैले आशा राखेकी छु
 
एसएलसीमा राम्रो अंक ल्याउनेबित्तिकै डाक्टर, इन्जिनियर र पाइलट नै पढ्नुपर्ने मानसकिताबाट न त म गुज्रिन चाहें, न त मेरा आमाबुबाले ममाथि कुनै जबर्जस्ती नै गर्नु भयो । किनकि म जन्मेकै पत्रकारिता पढ्न  अनि पत्रकारिता गर्नका लागि हो जस्तो लाग्थ्यो त्योबेला, जब म एसएलसी परीक्षा दिएर मोरंगको जाँतेबाट मेरी ठूली दिदीसँग काठमाडौँ आएँ ।
 
गाउँको सरकारी स्कुलबाट मैले एसएलसीमा ६६.७८ प्रतिशत ल्याएर एसएलसी उतिर्ण गरें । त्योसाल एसएलसीमा प्रथम श्रेणी ल्याउने म नै एक्ली थिएँ मेरो स्कुलबाट । सबैको बधाइ र शुभकामना पाएँ । मेरा आमाबुबा अनि मेरो परिवार, आफन्त र मलाई चिन्ने सबै, जो मेरो भलो चाहनुहुन्थ्यो, सबै खुशी हुनु भो । अनि म पनि उहाँहरु सँगसँगै खुशी भएँ । अनि सोचें, जिन्दगीमा सबैथोक पाएँ ।
 
तर के थाहा, एसएलसीपछिको पढाइको यात्रा कति धेरै संघर्षपूर्ण र चुनौतीले भरिएको हुने रहेछ । त्यो पनि राजधानी काठमाडौँमा गाउँबाट आएर पढ्नेहरुका लागि ।
 
मेरी दिदीकी साथीका दाइले पढाउने कलेज रहेछ चाबहिलमा रिलाएन्स इन्टरनेसनल एकेडेमी । पत्रकरिताका लागि राम्रो भन्ने सुनेर दिदी र म दाइलाई भेट्न गयैं चाबहिलस्थित उहाँको निवासमा । सुरेन्द्र दाइको सल्लाहमै म रिलाएन्स इन्टरनेसनल एकेडेमीमा भर्ना भएँ । अनि मुख्य बिषय पत्रकारिता लिएर पढ्न थालें । मेरो संघर्षको यात्रा सुरु भयो ।
 
सरकारी स्कुलमा एउटा मात्रै बिषय अंग्रेजी पढेको मलाई सबै बिषय अंग्रेजीमा लेख्न धेरै गारो हुने निश्चित नै थियो । स्कुलमा हुँदा अंग्रेजी क्लासमा किन अंग्रेजी बोल्न पर्ने, नेपालीमा पढाउनुपर्छ भनेर प्रधानाध्यापकसँग गुनासो गर्न जाने बिद्यार्थीहरुको हुलमा पहिलो नम्बरमा हुन्थें म ।
 
यहाँ पनि मैले दुर्इवटा अंग्रेजी बिषयबाहेक अरु बिषय नेपालीमा लेख्न दिनका लागि रिलाएन्स इन्टरनेसनल एकेडेमीका सरहरुलाई धेरै अनुरोध गरें । सुरुमा उहाँहरुले यो मान्नुभएन । एउटा निजी कलेजका लागि नेपाली माध्यममा लेख्न दिनु गारो नै पनि थियो सायद उहाँहरुलाई । मलाई उहाँहरुले अंग्रेजी माध्यमै लेख्न धेरै भन्नु भयो । कहिलेकाहीँ त थर्काउनु पनि भयो  ।
 
कलेजका सुरुका दिनहरु एकदम गारो भयो मलाई । हरेक दिन म कलेजबाट फर्किँदा मेरा आँखा आसुले भरिएका हुन्थे । अंग्रेजी नजानेको अनि आफुले अंग्रेजीमा लेख्न नसकेकै कारणले आफु सबैको नजरमा तल परेको भान हुन्थ्यो  । कति साथीहरुले त गिज्याउँथे ।  तर, उहाँहरु थाक्नुभयो अनि मलाई नेपाली  माध्यममा लेख्ने  अवसर दिनुभयो, जसका लागि म जीवनभरि नै अभारी हुनेछु ।
 
मैले पनि उहाँहरुले गरेको योगदान र दिएको अवसरको कदर गर्दै +२ का ती दुर्इ वर्ष मेरो जीवनलाई केवल पढाइमा नै समर्पित गरें ।
 
हरेक दिन दिनको १८/१९ घण्टासम्म म मेहनत गरेर पढ्थें किनकि मसँग प्रतिस्पर्दा गर्ने क्लासका साथीहरु काठमाडौँ र अन्य ठाउँका ठूला अनि नाम चलेका निजी स्कुलबाट ८० प्रतिशत भन्दा माथि नम्बर ल्याएका साथीहरु थिए । ती दुइर्वर्ष मैले कलेजमा हुने हरेक परीक्षामा कहिल्यै दोश्रो हुनु परेन । अनि मैले कलेजका परीक्षामा प्रथम भएकाले गर्दा प्राय सधै नै छात्रवृत्ति पाएँ । मैले कहिल्यै पढ्नका  लागि पैसा तिर्न परेन र अन्ततः म २००९ को मानविकी संकायमा प्रथम भएँ  ।
 
मैले नेपाली माध्यममा लेखेका कारणले अरु तीनजना साथीहरुले पनि नेपालीमै लेख्नुभएको थियो ।  मलाई त्यो समय साथ दिनुहुने रिलाएन्स इन्टरनेसनल एकेडेमीका बिषेश साथीहरु आकृति र रुपा, सबै सर, म्यामहरु र बिशेष गरी नन्दु सर र आमसञ्चार तथा पत्रकारिता पढाउने मेरा आदरणीय गुरु मोहन नेपाली सर, जसले क्लासमा पढाएका सबै कुराहरु नेपालीमा बुझ्न र लेख्न मलाई सघाउनुहुन्थ्यो, उहाहरूलाई म जीबनभरि सम्झिइरहनेछु ।
 
मैले ती दुर्इ वर्ष गरेको अथाह मेहनत, अनि मलाई हर समय साथ दिने मेरी अनुषा दिदीकै कारणले गर्दा मलाई अब जुनसुकै बिषयको परिक्षा अंग्रेजीमा लेख्न गारो भएन । त्यसपछि मैले मेरो पत्रकारितामा स्नातक तह काठमाडौँ मोडेल कलेजबाट अंग्रेजी माध्यममै लेखेर प्रथम श्रेणीमा उत्तीर्ण गरें ।
 
आज म फेरि केही हदसम्म स्नातकोत्तर आमसञ्चार तथा पत्रकारिता दोश्रो सेमेस्टरमा प्रथम भर्इ सफल भएकी छु ।
 
भनिन्छ, सफलता पाउन जति सजिलो हुन्छ, त्यसलार्इ कायम गर्न त्यति नै मुस्किल हुन्छ । मेरो यो सफलतालाई कायम राख्नका लागि आँट, जाँगर र मेहनत गर्न छाड्दिन भन्ने प्रण आफैसंग गर्न चाहन्छु । अनि आजको मेरो सफलतामा साथ दिने, शुभकामना दिने मेरा आमाबुबा, मेरी दिदी, भाइ, आफन्त, नातेदार, गुरुहरु र सबैलाई धेरैधेरै धन्यवाद दिन चहान्छु । बिशेष गरी आजको दिनमा म मेरो स्कुल श्री जाँते मा.बि., रिलाएन्स इन्टरनेसनल एकेडेमी, काठमाडौँ मोडेल कलेज र  आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका सबै गुरुहरुलाई नमन गर्न चाहन्छु । उहाँहरुले दिएकै ज्ञानले मैले आजको सफलता पाएकी हुँ ।
 
यी सबै मेरा व्यक्तिगत अनुबभहरु लेखिरहनुको एउटा मात्र अर्थ भनेको कुनै पनि काम असफल हुँदैन र कुनै पनि बिषय सानो हुँदैन । ठुलो मान्छे हुनका लागि  ठुलै बिषय मात्र पढ्नु पर्ने हाम्रो आम धारणा सरासर गलत हो । जुन बिषयमा आफ्नो इच्छा छ, जुन बिषय पढ्दा म त्यो बिषयलाई न्याय दिन सक्छु या भनौं राम्रो गर्न सक्छु भन्ने लाग्छ, त्यही बिषय पढौं । जस्तो बिषय वा जुन विधा पढे पनि त्यसमै दक्ष हुन सकिएमा सफलता धेरै टाढा हुँदैन ।
बिषय छनोट गर्ने क्रममा अरुको हैन, आफ्नो मनको कुरा सुन्नु पर्दछ । किनकि पढ्ने आफुले हो, अरुले होइन ।
 
सुन्दा ज्यादै सामान्य लाग्ने यी कुराहरु सफलता प्राप्तिका लागि निकै नै महत्वपूर्ण साबित हुन सक्छन् ।  जहाँसम्म अंग्रेजीको कुरा छ, यो एउटा केवल भाषा  हो, जुन रुपमा अंग्रेजी भाषालाई हाउगुजीको रुपमा लिइएको छ, यो लिनु आवश्यक छैन । अलिकता लगन, मेहनत अनि म सक्छु भन्ने आत्मविश्वास जगाउने हो भने गरेपछि अवश्य सकिन्छ ।
 
पारस खड्कालाई गायक बनाउन खोजेको भए अनि अन्जु पन्तलाई खेलाडी बनाउन खोजेको भए आज सायद उनीहरु हाम्रा अगाडि एक सफल क्रिकेटर पारस खड्का र एक सफल गायिका अन्जु पन्त  हुन सक्ने थिएनन्  । अमर नेउपानेको ‘करोडौ कस्तुरी’ किताबमा भनिएजस्तै आफ्नो जीवनको कस्तुरी चिन्न सक्नु पर्दछ  ।
 
धन्य छ सबै आमाबुबाहरुलाई जसले आफ्ना छोराछोरीको पढ्ने क्षेत्रको इच्छालाई बुझ्नु हुन्छ र कुनै जबर्जस्ती गर्नु हुन्न ।
 
हरेक बिषय पैसा कमाउनका लागि मात्र पढिँदैन । पैसा त जसरी पनि कमाउन सकिन्छ होला । तर, आफुले पढेको बिषय र आफुले रोजेको क्षेत्रले दिने आत्मसन्तुष्टि कमैले मात्र महसुस गर्ने मौका पाउँछन् ।
 
त्यसैले सबै अभिभावकलाई अनुरोध यही छ कि आफ्नो सन्तानको इच्छालाई कदर गरौं । मेरा आमाबुबालाई सलाम छ, मलाई मेरै इच्छामा पढ्न दिनुभएकोमा । म त धेरै भाग्यमानी पो रहेंछु । किनकि मलाई उहाँहरुले कहिल्यै यो पढ् र त्यो पढ् भनेर कर गर्नुभएन ।
 
पत्रकारिता पेशाका पनि आफ्नै चुनौती छन् । भनसुनका भरमा जागिर पाउने चलन हट्नु जरुरी छ । तर, जेजस्ता चुनौती भए पनि म पत्रकारिता बिषय पढेर खुशी छु र सन्तुष्ट पनि । त्यसकै परिणामस्वरूप आज मेरो मनपर्ने बिषयमा प्रथम भएँ  । मेरो सफलतामा खुशी हुने र जल्ने सबैलाई धेरैधेरै धन्यबाद । अन्त्यमा, फेरि भन्न चाहन्छु “आमाबुबा, यो सफलता हजुरहरुको हो ।”
 
श्रोत : अनलाईन खबर