मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘ढाडे बिरालो’ जस्ता गीतले लोकसंस्कृतिमा धब्बा

‘ढाडे बिरालो’ जस्ता गीतले लोकसंस्कृतिमा धब्बा


गैँडाकोट । पछिल्लो समय ज्योति थापा मगरले अभिनय गरेको तीज गीतको भिडियो ‘ढाडे बिरालो’ निकै विवादित बनेको छ । लोक दोहरी गीतका हस्तीहरुले समेत भिडियोमा समाजलाई ‘अपाच्य’ हुने अभिनय भएकाले यस्तो काम लोकसंस्कृति आचरणविपरीत भएको बताए ।
 
‘ढाडे बिरालोजस्ता गीत लोकसंगितका लागि कालो धब्बा हो’ राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका संरक्षक प्रख्यात दोहरी गायक अमर विरही गुरुङले भने । प्रतिष्ठानको १५ औँ वार्षिक साधारण सभाका विषयमा जानकारी दिन शुक्रबार गैँडाकोटमा भएको पत्रकार सम्मेलनमा लोकगायक विरहीले सो धारणा राखेका हुन् ।
 
त्यस्तै प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा चर्चित युवा लोकदोहरी गायक बद्री पंगेनीले भिडियो बनाउँदा संवेदनशील नभएका कारण विकृतिले प्रश्रय पाएको धारणा राखे । नेपालीको सभ्यता मानिएको लोकसंस्कृतिलाई विकृत पार्ने काम रोक्न दह्रो संयन्त्र आवश्यक भएको उनले बताए ।
 
प्रतिष्ठानका संस्थापक सदस्य हरि न्यौपानेले लोकगायक गायिकाहरुको संख्या बढेसँगै विकृति पनि बढ्दै गएको बताए । ‘त्यसमाथि सुन्नेमात्रै नभएर हेर्ने गीतहरु पनि आउन थाले । हेर्ने गीतअर्थात् म्युजिक भिडियो बनाउने चलनसँगै विकृति झनै थपियो’ न्यौपानेले भने ।
 
प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले विकृति बढेका कारण म्युजिक भिडियोहरुको पनि सेन्सर हुनुपर्ने धारणा राखे । ‘चलचित्र विकास बोर्डजस्तै लोकदोहरी विकास बोर्ड बनाएर म्युजिक भिडियोहरुको पनि सेन्सर गर्नुपर्छ भन्ने आवाज हामीले ६३ सालदेखि उठाउँदै आएका छौँ’ अध्यक्ष शर्मले भने ।
 
सेन्सरका लागि विज्ञहरुको समूह बनाउन उनले सुझाव दिएका छन् । ‘जो यो क्षेत्रका बारेमा गहिरो लगाव र ज्ञान राख्नु हुन्छ उहाँहरुलाई समेटेर सेन्सरका लागि बोर्ड बनाउन हामीले सुझाव दिएका छौँ । त्यसो भएमा अहिलेको जस्तो भड्किलो अवस्था अन्त्य हुन सक्छ’ अध्यक्ष शर्माले भने ।
 
लोकगीत क्षेत्रलाई विकृत बनाउनेहरु बढे पनि आफूहरुले नै केही गर्न नसकेको उनले बताए । ‘गत वर्षको तीजका बेलामा पशुपति शर्माले निकालेको एउटा गीतमा आपत्ति जनाएपछि हामीले नै यो विषयलाई व्यवस्थापन गरेका थियौँ । शर्मा हाम्रै संगठनको सचिव पनि भएकाले यो सम्भव थियो । तर हाम्रा सदस्यसमेत नभएकाले अनेक गर्दा नियन्त्रण गर्न गाह्रो भयो’ अध्यक्ष शर्माले भने । 
 
प्रतिष्ठानको १५ औँ वार्षिक साधारण सभा असोज १५ र १६ गते नवलपरासीको गैँडाकोटमा हुँदैछ । विस २०५७ सालमा नवलपरासीकै अरुणखोलामा तदर्थ समिति गठन भएको प्रतिष्ठानको पहिलो अधिवेशन पनि विसं २०५८ सालमा गैँडाकोटमा नै भएको थियो ।
 
प्रतिष्ठानको शाखा ५८ जिल्लामा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । वार्षिक साधरणसभामा प्रतिनिधि र पर्यवेक्षक गरेर तीन सयजना सहभागी हुनेछन् । सो अवसरमा सांगठनिक विकासका साथै लोकसंस्कृतिको जर्गेनाका विषयमा पनि अन्तक्र्रिया हुने अध्यक्ष शर्माले जानकारी दिए ।
 
‘दोहरी गीत, लोकगीत र कला संस्कृतिमा देखिएको विकृति, विसंगतिका विषयमा अग्रज, विद्वान र जानकारहरुबाट महत्त्वपूर्ण विचारहरु राख्ने कार्यक्रम पनि छ ।