राजनीति-समाज

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि शनिबार अपराह्नपछि क्रमिक रूपमा कम हुँदै जानेछ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

Advertisement

विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो, “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रूपमा कम हुँदै जाने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।”

भारतमा शक्तिशाली चक्रवातका रूपमा रहेको ‘अर्नब’ बलियो न्यूनचापीय प्रणालीका रूपमा विकसित भए तापनि नेपाल प्रवेश गर्दा कमजोर बनेको छ। यसले गर्दा नेपालमा हुने वर्षा, हिमपात तथा हावाहुरीको समग्र असर सामान्य मात्र रहेको विभागको भनाइ छ।

मौसमविद् ढकालका अनुसार आज दिउँसो र रातिको समयमा भने देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना कायम नै रहेको छ। उनले भने, “आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।”

विभागका अनुसार आज राति पनि देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ। सो अवधिमा देशका विभिन्न भागमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा मापन भएको छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।