राजनीति-समाज

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार बिहीबार बसेको संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन्। पार्टीले छानबिन प्रक्रिया पूरा नभएसम्म उनलाई सार्वजनिक तथा औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि उनी बैठकमा उपस्थित नभएका हुन्।

एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा प्रयोग र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद सुनारमाथि छानबिन अघि बढाएको छ। छानबिन नसकिएसम्म सार्वजनिक पदको हैसियतमा हुने गतिविधि तथा औपचारिक र सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको जनाइएको छ।

Advertisement

बिहीबार बिहान सिंहदरबारमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन गर्न गठित उपसमितिको दोस्रो बैठक बसेको थियो। बैठकमा उपसमितिको कार्यविधिबारे छलफल भएको छ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले २०८३ असोज १६ गते निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो। रास्वपा सांसद मनिष झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिको पहिलो बैठक असोज २१ गते बसेको थियो। उक्त बैठकमा प्रारम्भिक छलफल गरिएको थियो।

उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।

उपसमितिलाई अध्ययन पूरा गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिइएको छ। प्राप्त उजुरी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट उपलब्ध विवरण अध्ययन गरेर प्रतिवेदन तयार पार्ने गरी कार्यविधि बनाइएको छ।

निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्दै सांसद सुनारले यसअघि निरन्तर प्रश्न उठाउँदै आएका थिए। नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बल नेपालले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए। दुवै सुरक्षा निकायबाट गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।