काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको शुक्रबार भएको निर्वाचनमा थापा ६ हजार पाँच सय ८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले तीन सय ७५ मत प्राप्त गरेका छन् । कुल सात हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ ।
कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ । थापाले खड्गीभन्दा ६ हजार दुई सय नौ मत बढी प्राप्त गरेका छन् ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो । त्यसपछि भएको १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका हुन् ।














प्रतिक्रिया