नेपाल

मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ।

Advertisement

आज बिहान ८:४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको केन्द्रका अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिए।

मौसममा आएको परिवर्तनसँगै तापक्रम घटेपछि सर्वसाधारणका साथै बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका उनको भनाइ छ।

निरन्तर वर्षाका कारण जिल्लाको हवाई सेवा तथा सडक मार्गसमेत प्रभावित भएका मल्लले बताए। वर्षाका कारण बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ।

हिमपातले मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु, चिमात गाउँ बढी प्रभावित भएका छन्। यी क्षेत्रमा बढी हिउँ र पानी परेकाले अत्यधिक चिसो बढेको केन्द्रका अवलोकनकर्ता मल्लले बताए।

हिमपात र वर्षाले एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न, बस्तुभाउ चराउन समस्या भइरहेको स्थानीय फुर्वा फुटिक लामाले बताए। मुगुका अग्ला हिमाल, बस्तीहरूमा हिउँ परेको छ भने होचो स्थानमा शुक्रबार साँझदेखि वर्षा भइरहेको केन्द्रले जनाएको छ।

वर्षा र हिमपातको समयमा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा बस्न, अनावश्यक आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय मुगुले शुक्रबार सूचना जारी गरी सबैमा अनुरोध गरेको छ। जिल्लामा वर्षा र हिमपात भइरहेको भए पनि हालसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।