राजनीति-समाज

प्रमाण भए पक्राउ गरी देखाउन सांसद् सुनारको प्रहरीलाई चुनौती

प्रमाण भए पक्राउ गरी देखाउन सांसद् सुनारको प्रहरीलाई चुनौती


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् खगेन्द्र सुनारले आफूसँग जोडिएका गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण भए निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न नेपाल प्रहरीलाई चुनौती दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले प्रमाणका आधारमा हुने अनुसन्धान र कारबाही सामना गर्न आफू तयार रहेको बताएका हुन् ।

Advertisement

उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई समेत आफूमाथि लागेका विषयमा प्रमाण भए छानबिन गरी सार्वजनिक गर्न चुनौती दिएका हुन् ।

‘मेरो चुनौती सिआइबीलाई पनि छ । यदि मसँग जोडिएका विषयमा कुनै गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्षरूपमा छानबिन गरेर सार्वजनिक गरियोस्,’ सुनारले भने, ‘म छानबिनबाट भाग्ने होइन, कानुनी प्रक्रियाको सामना गर्न तयार छु ।’

अनुसन्धानका नाममा व्यक्तिलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरेर बोलाउने वा दबाब दिने काम भएको भए त्यसबारे पनि छानबिन हुनुपर्ने उनको भनाइ छ । प्रहरी अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्नेमा उनले जोड दिए । ‘प्रमाण छ भने कारबाही गरियोस्, प्रमाण छैन भने आरोप र दबाबको राजनीति बन्द गरियोस्,’ उनले भने ।

सुनारले प्रहरी संगठनभित्रैबाट गैरकानुनी काम भएको प्रमाण भेटिए त्यसमा समेत निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए । राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो ।