काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका थियो । वर्षा र केही प्राविधिक कारणले निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको हो ।
मतदानका लागि काठमाडौँका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा मतदान केन्द्र छुट्याइएको निर्वाचन समितिले जनाएको छ ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले पनि खुलामञ्चमै मतदान गर्नेछन् ।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । महाधिवेशन प्रतिनिधिले आफूलाई तोकिएको केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ । मतदानअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिने र त्यसपछि मात्रै मतदान गर्न दिइने व्यवस्था मिलाइएको छ ।












प्रतिक्रिया