राजनीति-समाज

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्षरूपमा बुझ्न पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरेको बताएका छन् ।

रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै नागरिकसँग नियमित संवाद गर्न अभियान सुरू गरिएको बताए । “सिंहदरबार र जनताको घरबीचको दूरी बढ्दा जनताको सुखदुःख बुझ्न सकिँदैन”, उनले भने, “त्यसैले जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या, चाहना र अपेक्षा बुझ्न हामी आएका हौँ ।”

Advertisement

प्रवक्ता खरेलले अभियानका क्रममा वडा तहसम्मका पार्टी नेता तथा कार्यकर्तासँग छलफल गरी प्राप्त सुझावलाई पार्टीको नीति निर्माण र सङ्गठनात्मक सुधारमा उपयोग गरिने बताए । प्रतिनिधिसभा सदस्य एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित नभई देशभरका नागरिकका सवाल उठाउन जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

धादिङ आउने क्रममा बाढीबाट क्षतिग्रस्त सडक र पुलको अवस्था प्रत्यक्ष देखेको उल्लेख गर्दै उनले क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनर्निर्माण आवश्यक रहेको बताए । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे ।

अभियानका लागि प्रवक्ता खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा. राम लामा र पार्टीकी केन्द्रीय सदस्य सुशीला कार्की धादिङ आएका छन् । रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार टोलीले धादिङका विभिन्न स्थानीय तहका टोल तथा बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ ।

अभियानका क्रममा स्थानीय समस्या, सुझाव र अपेक्षा सङ्कलन गरी पार्टीको केन्द्रीय तहसम्म पुर्‍याइने उनले जानकारी दिए ।