काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सहमहामन्त्रीको संख्या बढाएर १५ पुर्याउने भएको छ ।
कांग्रेसको संशोधित विधानअनुसार ९ जना सहमहामन्त्री समावेशी समूहबाट, २ जना खुला प्रतिस्पर्धाबाट र ४ जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ ।
समावेशीतर्फ महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ्गता भएका समुदायबाट एक–एक जना सहमहामन्त्री चयन हुनेछन् ।
अघिल्लो महाधिवेशनमा अल्पसंख्यक/अपाङ्गता भएका समुदायका लागि छुट्टै क्लस्टरको व्यवस्था थिएन । यसपटक विधान संशोधन गर्दै उक्त समूहलाई समेत समावेशी क्लस्टरमा समेटिएको हो ।
त्यस्तै, सहमहामन्त्रीमा दुई जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । यसअघि सहमहामन्त्री पदमा खुला समूहबाट निर्वाचन गर्ने व्यवस्था थिएन ।
सभापतिले चार जना सहमहामन्त्री मनोनीत गर्न पाउने व्यवस्था पनि गरिएको छ । मनोनीत हुने चारमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने गरी विधान संशोधन गरिएको कांग्रेसले जनाएको छ ।












प्रतिक्रिया