काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक क्रमभङ्ग गर्दै अघि बढ्न सुझाव दिएका छन् । थापाले क्रमभङ्ग गरेको उल्लेख गर्दै उनले लामिछानेलाई पनि त्यसतर्फ अघि बढ्न आग्रह गरेका छन् ।
काठमाडौँको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले विगतमा आफूले पटक–पटक क्रमभङ्ग गरेको स्मरण गरेका छन् । अहिले भने आफूलाई त्यसो गर्न केही कठिन हुन थालेको उनको टिप्पणी थियो ।
‘अब म सायद क्रमभङ्ग गर्न अलि गाह्रो गाह्रो भएको हो कि ? अब पालो गगनजीहरूको हो, तपाईं क्रमभङ्ग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभङ्ग गर्न बाँकी छ । तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल,’ उनले भनेका छन् ।
थापा र लामिछानेप्रति भरोसा रहेको भनाइ
प्रचण्डले थापा र लामिछाने दुवै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री रहेको स्मरण गर्दै उनीहरूको राजनीतिक चेतको प्रशंसा गरेका छन् । दुवैप्रति आफ्नो माया, भरोसा र सम्मान रहेको उनको भनाइ छ ।
‘मलाई सबैप्रति उत्तिकै माया छ,’ उनले भनेका छन्, ‘उत्तिकै भरोसा र सम्मान छ । मलाई विश्वास छ आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौँ । यही शुभकामना सबैलाई… !’
उनले आगामी दिनमा सबै मिलेर समृद्ध नेपाल निर्माण गर्ने विश्वास व्यक्त गर्दै महाधिवेशनको सफलताको शुभकामना दिएका छन् ।












प्रतिक्रिया