काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
निर्वाचित सरकारको संसद् र जनताप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठिरहेको भन्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई सामूहिक रूपमा सोच्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बढ्दो स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै राष्ट्रियता र सुशासनका विषयमा साझा पहल गर्नुपर्ने बताएका छन् ।
‘आज लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ । जनताले निर्वाचित गरेको सरकार संसद् र जनताप्रति कति उत्तरदायी छ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भनेका छन् ।
राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन आग्रह
पोखरेलले राणा शासन, पञ्चायत र निरङ्कुशताविरुद्ध विभिन्न राजनीतिक शक्ति मिलेर संघर्ष गरेको स्मरण गर्दै अहिले पनि लोकतन्त्र र संविधानको संरक्षणमा सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेपालको भू–राजनीतिक संवेदनशीलता उल्लेख गर्दै उनले सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितका प्रश्नमा दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।
‘नेपाली जनता र छिमेकी राष्ट्रहरूलाई पनि नेपाल आफ्नो राष्ट्रिय हितप्रति सचेत र जिम्मेवार रहेको विश्वास दिलाउनुपर्छ,’ उनले भनेका छन् । जनताले दुई तिहाइ नजिकको जनादेश दिए पनि त्यसको सही उपयोग हुन नसक्दा अस्थिरता र आशंका बढेको उनको टिप्पणी छ ।
सुशासन र सेवा प्रवाहमा परिणाम खोज्नुपर्ने
पोखरेलले राजनीतिक परिवर्तनसँगै नागरिकले सुशासन, प्रभावकारी सेवा प्रवाह, रोजगारी र तीव्र विकासको अपेक्षा गरे पनि त्यसअनुसार अनुभूति हुन नसकेको बताएका छन्। रोजगारीका लागि ठुलो सङ्ख्यामा युवा विदेश जानुपर्ने अवस्थाप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘नयाँ पुस्ताका सपना र आशालाई निराशामा बदलिन दिनुहुँदैन । हाम्रो इतिहास गौरवपूर्ण छ, तर इतिहासको गौरवलाई भविष्यको योजना र संकल्पमा बदल्न सक्नुपर्छ,’ उनले भनेका छन् ।
काँग्रेसको महाधिवेशनलाई शुभकामना दिँदै पोखरेलले इतिहासबाट सिकेर नयाँ पुस्ताका अपेक्षा, सपना र भावनालाई सम्बोधन गर्ने संकल्प गर्न आग्रह गरेका छन् ।












प्रतिक्रिया