काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले राजनीतिक दलहरूबीच अब ‘सत्ताको नभई कामको प्रतिस्पर्धा’ हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसजस्तो ऐतिहासिक दललाई विगतका त्रुटि सच्याउँदै नयाँ पुस्ताको भावनाअनुरूप रूपान्तरण हुन आह्वान गरे ।
महासचिव राईले कांग्रेस लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि धेरै योद्धाहरूको बलिदानबाट निर्माण भएको पार्टी भएको स्मरण गराए ।
उनले कांग्रेसलाई केवल एउटा राजनीतिक दलको रूपमा मात्र नभई नेपाली प्रजातन्त्रको एउटा महत्वपूर्ण अध्यायको रूपमा व्याख्या गरे । राईले आफ्नो सम्बोधनका क्रममा विगतमा भएका राजनीतिक गल्तीहरूबाट सिक्दै अबको बाटो रूपान्तरण र राष्ट्र निर्माणको हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘आज यस महाधिवेशनबाट म एउटा नयाँ सन्देश दिन चाहन्छु । नेपाली काँग्रेसलाई पनि आग्रह गर्न चाहन्छु, अब कुन पार्टीले कति समय सत्ता चलाउने भन्ने प्रतिस्पर्धाभन्दा कुन पार्टीले देशका लागि कति राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा गर्नुपर्छ । हाम्रा पार्टीका आदरणीय अध्यक्ष हर्क साम्पाङज्यूले पनि भन्दै आउनुभएको छ, अब राजनीतिक प्रतिस्पर्धा सत्ता र पदका लागि मात्र होइन, जनताको हितमा राम्रो काम गर्ने विषयमा हुनुपर्छ । यो भावनाका साथ देशका सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्छ । पुरानो र ऐतिहासिक राजनीतिक दलका रूपमा नेपाली काँग्रेसले पनि यस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मेरो विश्वास छ ।’
उनले हालको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सत्ताको आयु लम्ब्याउने प्रतिस्पर्धामा भन्दा जनताको हितमा कसले बढी काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा गर्न चुनौती दिए ।












प्रतिक्रिया