राजनीति-समाज

आन्तरिक हवाई दुर्घटनामा क्षतिपूर्तिको व्यवस्था गर्न सांसद्को माग

आन्तरिक हवाई दुर्घटनामा क्षतिपूर्तिको व्यवस्था गर्न सांसद्को माग


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएमा १ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ति दिने व्यवस्था गर्न माग गरेका छन् ।

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विधायन व्यवस्थापन समितिमा भएको दफावार छलफलका क्रममा उनले उक्त माग गरेका हुन् ।

Advertisement

प्रस्तावित विधेयकमा हवाई दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारलाई उपलब्ध गराइने क्षतिपूर्तिको रकम १ लाख अमेरिकी डलर उपलब्ध गराउने उल्लेख छ ।

सांसद खातीले सो रकम बढाएर १ लाख ५० हजार अमेरिकी डलर पुर्‍याउन प्रस्ताव गरे । क्षतिपूर्तिको रकम निर्धारण गर्दा अन्तर्राष्ट्रिय अभ्यास र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिलाई समेत ध्यान दिनुपर्ने उनको भनाई छ । उनले क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई प्रत्येक पाँच वर्षमा पुनरावलोकन गर्ने प्रावधान राख्नुपर्ने सुझाव पनि दिए।

उनले भने, ‘क्षतिपूर्तिको रकम एक लाख अमेरिकी डलर यो आज भन्दा झण्डै १० वर्ष अगाडिको फिगर हो । अहिले नियर अबाउट २ लाख सम्म राखेको छ । एसटीआरमा पनि राख्ने प्रचलन रहेछ युरोपियन कन्ट्रीहरुमा । यसलाई १ लाख ५० हजार गर्दा बेटर होला । किनभने अब अहिले डलरको भाउ बढेकोले अलिकति त्यो देखिन्छ, त्योसँग समायोजन गर्दाखेरि टिप्पणीमा पनि परेको के रहेछ भने १० वर्ष मात्र रिभ्यु गर्ने भन्दा ५ वर्ष भनेपछि यसलाई अब हामीले रिभ्यु गर्नुपर्ने अवस्था छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले भने क्षतिपूर्तिको रकम एकै पटक ठूलो मात्रामा बढाउन नहुने बताए । उनले क्षतिपूर्तिको रकम बढाउँदा हवाई टिकटको मूल्यसमेत बढ्ने भएकोले रकम बढाउँदा सावधानी अपनाउनुपर्ने बताए । हाल आन्तरिक हवाई सेवामा प्रचलित क्षतिपूर्तिको रकम करिब २० हजार अमेरिकी डलर रहेको उल्लेख गर्दै उहाँले प्रस्तावित १ लाख डलरको व्यवस्था नै विद्यमान अभ्यासभन्दा बढी भएको बताए । अन्तर्राष्ट्रिय अभ्यासको न्यूनतम बिन्दुबाट सुरु गर्न खोजिएको उनको भनाई छ । क्षतिपूर्तिको रकम बढाउँदा बीमा प्रिमियममा पर्ने प्रभाव र त्यसले टिकट मूल्यमा पार्न सक्ने असरलाई ध्यान दिनुपर्ने उनले बताए ।

उनले भने, ‘क्षतिपूर्तिको रकम बढाउने सम्बन्धी व्यवस्था गर्दा अन्ततोगत्वा टिकटको मूल्य नै वृद्धि हुन्छ । अहिले अभ्यासमा रहिरहेको रकम २० हजार डलर हाराहारी छ । २० हजार डलरबाट एक्कासी हामी १ लाखमा पुग्दै छौ । यो पनि अब अन्तराष्ट्रिय अभ्यासको न्यूनतम बिन्दुबाट सुरु गर्न खोजेको हो, अहिले नै तत्कालै ठुलो बनाउँदा त त्यसको प्रिमियम चार्जले गर्दाखेरी हुनसक्ने टिकट वृद्धिलाई रोक्नै नसकिने हुन सक्छ । अहिले प्रिभ्यालेन्ट प्राक्टिस भन्दा बढी नै छ ।’

विधेयकमा हवाई दुर्घटनामा यात्रु वा तेस्रो पक्षको मृत्यु भएमा मृतकका नजिकका हकवालालाई एकमुष्ट १ लाख अमेरिकी डलर बराबरको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, मृत्यु भएपछि उक्त रकम तत्काल उपलब्ध गराउन नसकेमा मृतकको शव परिवारलाई हस्तान्तरण गर्दा मृत्यु संस्कारका लागि वायुसेवा कम्पनीले कम्तीमा ५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यसरी उपलब्ध गराइएको रकम पछि भुक्तानी गरिने क्षतिपूर्तिबाट कट्टा गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ । साथै क्षतिपूर्तिको रकम तत्काल नदिएमा वायुसेवा कम्पनीलाई जरिवाना गर्ने व्यवस्था समेत राखिएको छ ।