काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसदको कामकारबाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले केही दिनयता संसद ‘अटोमेटेड’ भर्सनमा सञ्चालन भइरहेको भन्दै हतारमा विधेयकहरू पारित गर्ने प्रवृत्तिप्रति प्रश्न उठाएकी हुन् ।
सांसद विश्वकर्माले एकै दिनमा तीनदेखि चारवटा विधेयक पेश गर्ने, छलफल गर्ने र ७२ घण्टाभित्र संशोधन हाल्नुपर्ने बाध्यात्मक अवस्थाले कानून निर्माणको गुणस्तर खस्किएको जिकिर गरिन् । उनले विशेष गरी मातृत्व, गर्भपतन र प्रजनन स्वास्थ्यजस्ता महिलाको अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विधेयकहरूलाई एउटै ‘बास्केट’मा राखेर हतारमा पारित गरिएको भन्दै चिन्ता प्रकट गरिन् ।
उनले भनिन्, ‘हामीले कानून निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानूनको गुणस्तरको सुनिश्चितता गराउने ?’
कानून बनाउँदा त्यसको दूरगामी प्रभाव र जगको मूल्यांकन हुनुपर्नेमा जोड दिँदै उनले संसद्लाई ‘विधेयक म्याराथन’को थलो नबनाउन आग्रह गरिन्।
सभामुखमार्फत सरकार र सदनको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले हतारको कानून निर्माणले गलत नजिर बसाल्ने र जनताप्रति जवाफदेही हुन नसकिने चेतावनी दिइन् । संसदमा विधेयकहरूमाथि पर्याप्त छलफल नहुँदा त्यसले समाज र राष्ट्रमा पार्ने असरबारे व्यापक बहस हुन आवश्यक रहेको उनको भनाइ छ ।












प्रतिक्रिया