नेपाल

वंशजको नागरिकताको निरन्तरताका लागि दबाबमूलक कार्यक्रम सुरू

वंशजको नागरिकताको निरन्तरताका लागि दबाबमूलक कार्यक्रम सुरू


काठमाडौँ । विदेशमा बस्ने नेपालीको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै नेपालमा दबाबमूलक कार्यक्रम सुरू गरिएको छ । नागरिकता खोई अभियानले यसअन्तर्गत आइतबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा विदेशमा बस्ने नेपालीका अभिवाभकहरुसँग मिलेर सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले वंशजको नागरिकताको निरन्तरताका बारेमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि सही छाप गरेको पाँच बुँदे करारअनुसार काम गर्न आग्रह गरेका थिए ।

Advertisement

एनआरएन नागरिकता कागजको खोस्टो मात्र भएको भन्दै वक्ताहरुले वंशजको नागरिक रगतले नेपाली नागरिक भएको हुँदा नागरिकताको निरन्तरता कायम गर्न आग्रह गरे । रास्वपाले विदेश बस्ने नेपालीको वंशजको नागरिकता निरन्तरता गर्ने वाचा गरेकाले विदेशमा बस्ने नेपालीले पनि चुनावमा जिताउन उत्साहजनक समर्थन गरेको बताउँदै वक्ताहरुले यो करार नभुल्न चेतावनी पनि दिए ।

रास्वपाले चुनावमा ल्याएको करार पत्रअनुसार वंशजको नागरिकको नागरिकता निरन्तरता गर्दैन भने आउने दिनमा ठूलो मूल्य चुकाउनुपर्ने नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरेले बताए । ‘हामी विदेशमा बस्ने थुप्रै नेपालीहरु ज्ञान, स्रोत र साधनसहित नेपाल फर्किन्छौँ भनिरहेका छौँ हामीले चाहेर पनि विदेश नागरिकता लिएका होइनौँ विदेशमा बस्नु पर्दाको बाध्यताले लिइएको हो र हामीले नेपाली नागरिकता त्यागेका पनि छैनौँ’, घिमिरेले भने, ‘कानुन देखाएर जबर्जस्ती हामीलाई विदेशी नागरिक बनाइएको छ । त्यही भएर हामी हाम्रा अभिभावकसँग मिलेर सडकमा आउनुपरेको हो ।’

यस्ता कार्यक्रमले निरन्तरता पाउने उक्त अभियानले जनाएको छ । अर्को कार्यक्रम असोज ८ गते रास्वपा कार्यालयनजिकै कल्याण विनायक पार्कमा हुने घिमिरेले जानकारी दिए ।