काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले जेन्जी आन्दोलनका क्रममा अङ्गभङ्ग भएकाहरूलाई राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्ने बताएका छन्। आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उनले आजको दिनलाई नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको दिनको रूपमा लिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ’अस्वीकृति पत्र’ थियो। त्यो आन्दोलनले एउटा जबरजस्त सन्देश दियो: यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।’
जेन्जी आन्दोलन पूर्णतः स्वस्फूर्त जागरण भएको जिकिर गर्दै कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न नहुने उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ ।’
उनले आफूहरूलाई रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर गरिराख्न आग्रह गरेका छन्।
‘आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु।’












प्रतिक्रिया