राजनीति-समाज

प्राकृतिक विपद्का कमजोरीबारे निष्पक्ष बहस हुनुपर्छ : सभापति थापा

प्राकृतिक विपद्का कमजोरीबारे निष्पक्ष बहस हुनुपर्छ : सभापति थापा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा भइरहेका प्राकृतिक विपद् र त्यसबाट भइरहेको जनधनको क्षतिबारे गम्भीर समीक्षा तथा बहस हुनुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तत्काल उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने र उद्धारको चरण सकिएपछि विपद्का क्रममा भएका कमजोरीबारे निष्पक्ष तथा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताएका हुन् ।

Advertisement

जलविद्युत् आयोजना तथा सुरूङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पक्षलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । नेपालका विभिन्न स्थानमा रहेका जलविद्युत् आयोजना र सुरुङमा विपद्का बेला हुनसक्ने जोखिम तथा उद्धार कार्य चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

त्रिशूली क्षेत्रमा भएको पछिल्लो दुर्घटना तथा अन्य प्राकृतिक विपद्का घटनातर्फ सङ्केत गर्दै सभापति थापाले अहिले केही दिन उद्धारमै केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘अहिले हामी केही दिन उद्धार कार्यमै केन्द्रित हुनुपर्छ। तर यो चरण सकिएपछि कहाँ, कसरी र किन कमजोरी भयो भन्नेबारे वस्तुनिष्ठ र निष्पक्ष बहस हुन जरूरी छ । यस्ता कमजोरी संस्थागत हुन् वा व्यक्तिगत, यसबारे संसद् र आमनागरिकले स्पष्ट जानकारी पाउनुपर्छ ।’

प्राकृतिक विपद्का बेला सुरूङबाट उद्धार गर्ने विषयमा पर्याप्त तयारी आवश्यक रहेको उनले बताए । सुरूङ निर्माणकै क्रममा उद्धारसम्बन्धी व्यवस्था गर्नुपर्ने हो वा नयाँ प्रविधिको आवश्यकता पर्छ भन्ने विषयमा प्राविधिक स्पष्टता आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘प्राकृतिक विपद्का बेला टनेलबाट उद्धार गर्ने सन्दर्भमा हामीले यथेष्ट काम गर्नुपर्ने देखिएको छ । यो आयोजनाको डिजाइनकै क्रममा गरिनुपर्ने कार्य हो वा नयाँ प्रविधिको आवश्यकता हो, यसमा प्राविधिक स्पष्टता जरूरी छ ।’

पूर्वाधार निर्माणकै चरणदेखि विपद्को पूर्वतयारी, आवश्यक उपकरणको व्यवस्था तथा नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सभापति थापाले जोड दिए ।

यसपटकका विपद् तथा दुर्घटनाबाट पाठ सिकेर भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग र पूर्वतयारीमा ढिलाइ गर्न नहुने उनले बताए ।