राजनीति-समाज

भोटेकोशी बाढी : जीवितै उद्धार हुनेको संख्या चार पुग्यो

भोटेकोशी बाढी : जीवितै उद्धार हुनेको संख्या चार पुग्यो


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेका चार जनाको जीवितै उद्धार गरिएको छ । जलविद्युत् आयोजनाका सुरूङमा फसेका तीन कामदार र बेत्रावतीस्थित घरको भग्नावशेषमा फसेकी एक महिलाको जीवितै उद्धार गरिएको हो ।

उद्धार टोलीले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरूङबाट शुक्रबार दुई नेपाली कामदारलाई जीवितै बाहिर निकालेको थियो । शनिबार सोही आयोजनाको करिब २२५ मिटर लामो सुरूङबाट एक चिनियाँ कामदारलाई पनि जीवितै उद्धार गरिएको छ ।

Advertisement

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार सुरूङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

यसैबीच, बाढी आएको ११ दिनपछि शनिबार बेत्रावती बजारबाट एक महिलाको पनि जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलका अनुसार आनन्द श्रेष्ठको घरको भग्नावशेषबाट उनकी पत्नी चण्डिकालाई उद्धार गरिएको हो ।

चारतले घरको चौथो तलाबाट उद्धार गरिएकी चण्डिका अचेत अवस्थामा फेला परेकी थिइन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार टोलीले महिलाको आवाज सुनेपछि उनी भएको स्थान पहिचान गरेको थियो । उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

यसअघि शुक्रबार सञ्जय साह र कबिर महर्जनलाई बाढी आएको १० दिनपछि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएको थियो । उनीहरू सुरूङभित्र करिब १७० मिटर गहिराइमा फसेका थिए ।