काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘एरको सुरूङभित्र फसेका ललितपुरका मेकानिकल सुपरभाइजर कविर महर्जनको शुक्रबार १० दिनपछि जीवितै उद्धार भयो ।
नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रबार बिहान सकुशल उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल छाउनीको आइसियू कक्षमा उपचारमा भइरहेको छ । श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताइन् ।
उनले श्रीमानले सुरूमा आफूलाई चिन्न नसके पनि अहिले अवस्था ठीकै रहेको बताइन् । उनले खुट्टामा थोरै चोट र शरीरसमेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा रहेको बताइन् ।
उनले भनिन्, ‘अहिले ठीकै छ, अलिअलि बोल्नुभएको छ । आउनेबेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन सुरुमा त । अहिले आइसियूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरिर नै पहेँलो भएको छ ।’
‘उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिएकोमा धन्यवाद’, उनले हर्षमिश्रित भावमा भनिन् ।












प्रतिक्रिया