राजनीति-समाज

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका कार्य मानव अधिकारमैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

Advertisement

रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरिएको जनाइएको छ।

यसैगरी, उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मनोसामाजिक परामर्शकर्ता, राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्था र मानवीय सहयोगमा जुटेका सर्वसाधारणप्रति धन्यवाद व्यक्त गरेको छ।

बाढी प्रभावित क्षेत्रमा हुने उद्धार, राहत, उपचार र पुनःस्थापनाका कार्यमा निजी क्षेत्रसँगसमेत सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ।

विपद्को यस असहज परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणसँग सम्बन्धित गतिविधिमा सरकारलाई सहयोग गर्न, मानवीय सहायताका कार्यमा सक्रिय हुन तथा प्रभावित परिवारको पीडामाथि सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी नगर्न आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ।

अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ ।