राजनीति-समाज

सरकार सामाजिक सञ्जालमा प्रचार र हल्लामा मात्र अल्झियो : आङदेम्बे

सरकार सामाजिक सञ्जालमा प्रचार र हल्लामा मात्र अल्झियो : आङदेम्बे


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद् व्यवस्थापनमा सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ‘संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा नेता आङदेम्बेले विपद्को तत्कालीन व्यवस्थापन, दीर्घकालीन पुनस्र्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण र सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ‘संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन गर्न माग गरेका हुन् ।

Advertisement

उनले सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको भन्दै कमजोरीमा खबरदारी गर्ने र नागरिकको जीवन रक्षाका सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले अहिले प्रचार, दोषारोपण वा राजनीतिक संख्या खोज्ने समय नभई राष्ट्र एकजुट भएर पहिले प्राण बचाउने, बेपत्ता खोज्ने, राहत दिने र पुनर्निर्माण गर्ने नै मुख्य प्राथमिकता हुनुपर्ने धारणा राखे ।

नेता आङदेम्बेले विपद्पछि स्थानीय सरकारसँग समन्वय नगरेको निजी क्षेत्र तथा प्राविधिक÷विज्ञहरूलाई कार्यक्षेत्रमा जान रोकेको र सरकार आफैँले ७ दिनसम्म ठोस कदम नचालेर पछि ‘सुरुङ आफैँ खोज’ भनेको भन्दै आपत्ति जनाए ।

उनले संवेदनहीनता र ढिलासुस्तीका कारण सुरुङभित्र भएका नागरिकहरूको ज्यान जानु ‘मृत्यु मात्र हो कि हत्या’ भन्दै सरकारसँग जवाफदेहिताको माग गरे। नेता आङदेम्बेले आफन्तको खोजीमा रहेका पीडित परिवारहरूमाथि धम्की, गालीगलौज र अपशब्द प्रयोग भएको भन्दै आपत्ति जनाए ।

सरकार फिल्डमा काम गर्नुभन्दा फेसबुक तथा सामाजिक सञ्जालमा प्रचार र हल्लामा मात्र अल्झिएको उनले आरोप लगाए । त्यस्तै, उनले मन्त्री तथा सरकारी दलका छुट्टाछुट्टै समानान्तर संयन्त्र र संरचनाहरूले उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुग्नुको साटो अवरोध पुर्‍याएको जिकिर गरे ।

प्रचारमुखी संयन्त्र छाडेर संघीय सरकारले नै निजी क्षेत्रसहित सबैलाई एकीकृत समन्वय र जिम्मेवारी बाँडफाँड गर्नुपर्ने उनले बताए ।