राजनीति-समाज

भोटेकोशी बाढी : नेपाली सेनाद्वारा १६ विदेशीसहित ४०९ जनाको उद्धार

भोटेकोशी बाढी : नेपाली सेनाद्वारा १६ विदेशीसहित ४०९ जनाको उद्धार


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि जारी उद्धार तथा खोजी कार्यअन्तर्गत नेपाली सेनाले १६ जना विदेशी नागरिकसहित हालसम्म ४०९ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार आइतबार मात्रै सेनाका हेलिकप्टरमार्फत बाढीप्रभावित क्षेत्रबाट १५ जना चिनियाँ र १ जना भारतीय नागरिकसहित ४०९ जनाको उद्धार गरिएको हो ।

Advertisement

यसैबीच, त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायीरूपमा परिचालन गरिएको विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्यलाई तीव्र बनाएको छ ।

टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी ‘क्राउनहेड’ फेला पार्न सफल भएको सेनाले जनाएको छ । क्राउनहेडतर्फ बनाइएको होलबाट अवलोकन गर्दा करिब ७ मिटरको व्यासमा निकै माथिसम्म पानीको सतह रहेको देखिएको छ ।

टनेलभित्र ठूलो मात्रामा पानी जमेको देखिएपछि फसेका टोलीको अवस्थाबारे थप जानकारी लिन तथा सुरक्षित उद्धारका लागि प्राविधिक टोलीले काम अघि बढाइरहेको छ ।

बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा उद्धार, खोजी, राहत तथा पुनःस्थापनाका लागि नेपाली सेनाको आठ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको छ । सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको सेनाले जनाएको छ ।

यसैबीच, रसुवासहितका प्रभावित क्षेत्रमा बाढीपहिरोको जोखिम कायमै रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।