राजनीति-समाज

अवरुद्ध पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्ड तीन दिनपछि सञ्चालनमा

अवरुद्ध पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्ड तीन दिनपछि सञ्चालनमा


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौं । विगत तीन दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्ड अन्ततः सञ्चालनमा आएको छ ।

राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालकाअनुसार राजमार्गको गलौँदी, बाङ्गे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो ।

Advertisement

जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । उप महानिर्देशक अर्यालले यस पटकको प्राकृतिक प्रकोप र पहिरोको प्रकृति विगतको तुलनामा भिन्न र चुनौतीपूर्ण रहेको बताए ।

उनले भने, ‘सामान्यतया सडक अवरुद्ध भएको २ देखि ४ घण्टाभित्र खुलाउने हाम्रो अनुभव र कार्यतालिका हुने गथ्र्यो, तर यसपटक सडकमा जम्मा भएको पाङ्गो माटो बाहिरबाट हेर्दा ठोस देखिए पनि मेसिनले चलाउनासाथ लेदो ९पेस्ट० मा परिणत हुने प्रकृतिको थियो । बस्तीका कारण निकासको अभाव र मेसिनरी उपकरण पुर्‍याउन देखिएको कठिनाइका बाबजुद तीन दिनको निरन्तर प्रयासपछि सडक खुलाउन सफल भएका छौँ ।’

सडक खुलाउन निर्माण व्यवसायी, सुरक्षा निकाय, स्थानीय सरकार र सर्वसाधारणले संयुक्त रूपमा श्रम र साधन परिचालन गरेका थिए । सुरक्षा संवेदनशीलता र मौसमसम्बन्धी प्रतिकुल सूचनाका कारण बीचमा केही घण्टा काम स्थगित गर्नुपर्दा सडक सञ्चालनमा केही ढिलाइ भएको विभागले जनाएको छ ।

हाल पहिलो चरणमा राजमार्गमा अलपत्र परेका र अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ । सडक विभागले अझै पनि जोखिम कायमै रहन सक्ने भन्दै आम सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।