मनोरञ्जन

भदौ १९ गतेदेखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

भदौ १९ गतेदेखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४ तारिख)देखि विश्वभर प्रदर्शनमा आउने भएको छ ।

निर्माता लम्सालले कृष्ण जन्माष्टमीको शुभ अवसर पारेर ‘बा एक योद्धा’ दर्शकमाझ ल्याउन लागिएको बताए । निर्माता लम्सालका अनुसार ‘बा एक योद्धा’ केवल एउटा चलचित्र मात्र नभई हरेक परिवारले अनुभूति गर्ने बुवाको संघर्ष, त्याग र प्रेमको कथा हो ।

Advertisement

‘हामीले एउटा यस्तो चलचित्र बनाउने प्रयास गरेका छौँ, जसले दर्शकलाई आफ्नै परिवार र आफ्ना सम्बन्ध सम्झन बाध्य बनाओस्,’ निर्माता लम्सालले भने, ‘चलचित्र हेरेर एउटा परिवारमा बाको योगदान कति हुन्छ ? हरेक सन्तानलाई त्यसको महसुस गराउने कोसिस गरेका छौँ ।’

चलचित्रमा दिव्यदेव पन्तले ‘बा’को भूमिकामा जीवन्त अभिनय गरेका छन् । झरना थापा आमाको भूमिकामा देखिएकी छन् भने सुहाना थापाले छोरीको पात्रलाई प्रभावशाली रूपमा प्रस्तुत गरेकी छन् । त्यसैगरी सागर खनाल र सुप्रज्ञा शर्माले छोरा–बुहारीको भूमिकामा सशक्त अभिनय गर्दै कथालाई अन्तिम दृश्यसम्म रोचक बनाएका छन् ।

दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मासहित शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरूङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुङ्गाना, अञ्जन ढकाल तथा करण शाहलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा चर्चित अभिनेत्री केकी अधिकारीको समेत विशेष उपस्थिति रहेको छ ।

करिब दुई करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्रको छायाङ्कन काठमाडौँ तथा काभ्रेको ऐतिहासिक एवम् पर्यटकीय नगर पनौतीका विभिन्न स्थानमा गरिएको हो ।

चलचित्रको निर्देशन हरि लम्सालले गरेका हुन् । कथा तथा पटकथासमेत उनैले तयार पारेका छन् । डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा हरि लम्सालकै सङ्गीत रहेको छ ।

शिवराम श्रेष्ठको छायाङ्कन रहेको चलचित्रको सम्पादन मित्र डी. गुरूङले गरेका छन् । कार्यकारी निर्माताको जिम्मेवारी अनिल बुढाथोकीले सम्हालेका छन् भने लाइन प्रोड्युसर अर्जुन पौडेल र सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

झन्डै दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका बसन्त लम्साल सफल व्यवसायीसँगै गीतकार, सङ्गीतकार र गायकका रूपमा पनि परिचित छन् । समाजसेवामा समेत सक्रिय लम्सालको निर्माणमा बनेको ‘बा एक योद्धा’ दोस्रो चलचित्र हो ।