ग्लोबल नेपाली

जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी घोषणा

जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी घोषणा


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्डका गौतम दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली जनसम्पर्क समिति,अमरिकाको तेस्रो केन्द्रीय अधिवेशन अगष्ट १४ देखि १६ तारिखसम्म भर्जिनिया राज्यमा सम्पन्न हुन लागिरहेको छ । दाहाल केन्द्रीय अधिवेशन तयारी समितिका सदस्य सचिव हुन्।

Advertisement

आफ्नो उम्मेदवारी घोषणासँगै दाहालले समितिको नेतृत्वमा रहेर आफूले काम गर्न चाहेका एजेन्डा पनि सार्वजनिक गरेका छन् । साङ्गठिनक संरचनालाई मजबुत बनाउने, नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध विस्तार गर्ने, दोस्रो पुस्तालाई विभिन्न फोरमहरुमा सक्रिय बनाउनेलगायतका एजेन्डा तय गरेका छन् ।

यसैगरी आर्थिक पारदर्शीतालाई आफ्नो एजेण्डाको प्रमूख प्राथमिकतामा राखेको उल्लेख गर्दै दाहालले भनेका छन्, ‘आर्थिक अनुशासन र पारदर्शीतालाई म पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।’‘ उनले संस्थाको विश्वास र भरोसा भनेको नै आर्थिक पारदर्शितामा रहने भन्दै यस मामिलामा आफ्नो कुनै सम्झौता नहुने प्रतिबद्धता जनाए ।

‘म मेरो कार्यकालमा कुनै प्रश्न नउठ्ने गरी काम गर्नेछु’, उनले भने, ‘मेरा हातहरु सफा छन् र सफा नै राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’‘

दाहालले अमेरिकामा रहेका विभिन्न च्याप्टरहरुको सहकार्य र सहभागितामा प्रविधिमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने आफनो एजेण्डामा उल्लेख गरेका छन्।

उनको एजेण्डामा अमेरिकामा बसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका, अनुभवी व्यक्तित्वहरुको समेत सहभागितामा थिङ्क टयाङक (बौद्धिक समूह) स्थापना गरेर विभिन्न विषयमा औपचारिक धारणाहरुसमेत सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

संस्थागत सुशासन ,विधान सम्मत कार्ययोजना र आर्थिक विवरणलाई थप पारदर्शी बनाएर चुस्त संगठन निर्माणमा योगदान दिने दाहालको एजेण्डामा समावेश गरिएको छ।

उनले अमेरिकाको विभिन्न तहको सरकारमा रहेका नेपाली मूलका अमेरिकीहरु निर्वाचित प्रतिनिधिहरुसँग मिलेर नेपालको हितको पक्षमा वकालत गर्ने र संघीय संसद्को तहमा विगतमा क्रियाशील रहेको नेपाल सरोकार समूह ‘नेपाल ककस’लाई पुनः सक्रिय बनाउन लबिङ्ग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

अमेरिकामा रहेको नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको अर्धकदको शालिकलाई आफ्नो कार्यकालमै कुनै सार्वजनिक पार्क वा स्थानमा राख्नको लागि पहल गर्ने, नेपालीहरुको पहुँच र प्रभाव रहेको विभिन्न राज्यको समुदायमा स्थानीय बाटो र गल्लीहरुको नाम नेपालको नाममा राख्न स्थानीय एवं राज्य सरकारसँग समन्वय गर्ने र समितिका च्याप्टरहरुलाई वार्षिक क्यालेन्डर बनाएर कार्य तालिका अनुसार काम गर्नुपर्ने गरी योजना बनाउने एजेन्डा सार्वजनिक गरेका छन् ।

दाहालको योजना र उम्मेदवारीको समर्थनमा जनसम्पर्क समितिका मतदाताहरु र अन्य सहभागीहरुले समर्थन जनाउंदै ऐक्यवद्धता व्यक्त गरेका छन् ।

अध्यक्षको दाबी गरेका दाहाल को हुन् ?

शहीदभूमि ओखलढुङ्गामा जन्मिएका गौतम दाहाल विद्यार्थी जीवनसँगै नेपाल विद्यार्थी संघमार्फत सक्रिय रहेर काम गरेका जुझारु व्यक्ति हुन्। नेपाल विद्यार्थी संघ ओखलढुङ्गाको जिल्ला सदस्य, नेपाल विद्यार्थी संघ ओखलढुङ्गा–काठमाडौँ सम्पर्क समितिको सभापतिसमेत भएर काम गरिसकेका दाहाल तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राईको प्रेस सल्लाहकारसमेत थिए ।

पारिवारिक राजनीतिक विरासतमा जोडिएका दाहालको पाटो राजनीतिसँगै पत्रकारितामा पनि जोडिएको छ । दाहाल विगत २१ वर्षदेखि अमेरिकामा बसोवास गर्छन् र नेपाली जनसम्पर्क समिति,अमेरिकाको विभिन्न जिम्मेवारीमा रहेर निरन्तर काम गर्दै आइरहेका छन् । दाहाललाई चिन्नेहरू नेपाली कांग्रेसको कर्मठ र निरन्तर सक्रिय हुनसक्ने प्रतिबद्ध व्यक्तिको रुपमा उनलाई लिन्छन् ।

सन् २००७ देखि उनी नेपाली जनसम्पर्क समिति, अमेरिकाको विभिन्न जिम्मेवारीमा रहँदै हाल उनी कांग्रेस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छन् । समितिको निवर्तमान प्रचार विभाग प्रमुख र प्रवक्ता रहेका दाहाल कांग्रेसको प्रचार विभागअन्तर्गत विभिन्न जिम्मेवारीमा समेत रहेर काम गरेका छन् । यसैगरी उनले एनआरएन आइसिसीको भाषा, साहित्य सम्वर्द्धन समितिमा समेत रहेर काम गरेका छन् ।

नेपालमा रहँदा रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल १ टेलिभिजन र हिमालय टाइम्स, राष्ट्रपुकार, नेपालवाणी, नेपाल जागरणलगायतका मिडियामा काम गरेको अनुभव दाहालसँग छ । दाहाल ग्लोब नेपाल डटकमका संस्थापक सम्पादक र ग्लोब नेपाल मिडिया हाउसका अध्यक्ष हुन्।

अमेरिकामा उनी नेपाल अमेरिका पत्रकार संघको निर्वाचित अध्यक्ष भएर काम गरेका छन् भने बाल्टिमोरमा रहेका नेपालीहरुको संस्था बानाको निर्वाचित महासचिवसमेत भएर काम गरेका छन् । अमेरिकामा रहेका नेपालीहरु माझ स्पष्ट वक्ता, सक्रिय सहभागिता र जनसम्पर्क समितिको एक खम्बाको रुपमा दाहालले ख्याति कमाएका छन् ।