मुस्ताङ। मुस्ताङमा पहिलोपटक एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च लेक, खर्क तथा पाटन क्षेत्रमा आधुनिक ड्रोनमार्फत वन अनुगमन थालेको जनाएको छ।
मुस्ताङमा यसअघि ड्रोन प्रविधि चलचित्र, डकुमेन्ट्री तथा विभिन्न सांस्कृतिक कार्यक्रमको दृश्यांकनमा प्रयोग हुँदै आए पनि वन संरक्षण तथा निगरानीका लागि एआई ड्रोन प्रयोग गरिएको यो पहिलो पटक हो।
कठिन भूगोल, दुर्गम क्षेत्र र न्यून मानव बस्ती भएका स्थानमा प्रभावकारी अनुगमन गर्न उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिए। उनका अनुसार संरक्षित वन, वन पैदावार तथा वन्यजन्तुको संरक्षण, चोरी सिकारी नियन्त्रण तथा वन क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न एआई ड्रोनमार्फत गस्ती सुरु गरिएको हो।
हालसम्म वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ अन्तर्गत लुप्रा लेक तथा घरपझोङ गाउँपालिकाका भ्राक्सा र नम्खु क्षेत्रलगायत स्थानमा ड्रोनमार्फत गस्ती सम्पन्न भइसकेको छ। यार्सागुम्बा सङ्कलनको सिजन चलिरहेका बेला एक्यापले ड्रोन प्रयोग गरेर छड्के अनुगमनलाई पनि तीव्र बनाएको जनाएको छ।
यार्सागुम्बा सङ्कलकबाट हुनसक्ने अवाञ्छित गतिविधि, वन क्षेत्रमा पासो थाप्ने, बन्दुक बोकेर वन्यजन्तुको चोरी सिकारी गर्ने तथा आगलागीको जोखिम न्यूनीकरण गर्न आधुनिक प्रविधिको प्रयोग गरिएको थकालीले बताए।
एक्यापका अनुसार प्रयोगमा ल्याइएको ड्रोनको तौल १ हजार ६३ ग्राम रहेको छ। उक्त ड्रोनले करिब १५ देखि २० किलोमिटरसम्म दूरी तय गर्न सक्छ भने ६ किलोमिटरसम्म उचाइमा उड्न सक्षम छ। ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटरको गतिमा सञ्चालन गर्न सकिने जनाइएको छ।












प्रतिक्रिया