मुख्य समाचार

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

वीरगन्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा तथा अरू संरचना हटाउन थालेको छ । कार्यालयले आइतबार (वैशाख १३) बिहानदेखि नहरको जानकी टोल र गण्डकचोकसम्म अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो ।

नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका निम्ति पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा अतिक्रमण हटाउने कार्य सुरु गरिएको जानकारी दिए । “गण्डक नहरको दुवैतर्फ चारवटा एस्काभेटर प्रयोग गरेर अतिक्रमण हटाउने कार्य भइरहेको छ,” उनले भने, “हाल पर्सामा हुरीसहितको पानी परेर प्रतिकूल मौसम भए पनि बिहानैदेखि अतिक्रमण हटाउने काम सुरु गरेका हौँ ।”

नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ मा गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्झौता भएको थियो । सम्झौताअनुसार, दुवै मुलुकमा सिँचाइ गर्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी सिँचाइ प्रणाली विकास गरिएको थियो ।

अतिक्रमित संरचना हटाउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सुरक्षा प्रदान गरिएको छ ।

उक्त योजनाअन्तर्गत पर्सा, बारा र रौतहटका दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइका निम्ति भारतीय पक्षले ८५० क्युसेक क्षमताको पानी आउने गण्डक नहर निर्माण गरेर सन् १९७५ र १९७६ मा नेपाललाई हस्तान्तरण गरेको थियो ।

गण्डक नहर भारतीय भूमि हुँदै नेपाल–भारतको सीमा क्षेत्र जानकी टोल भई पर्सामा पानी भित्रने गर्छ । यो नहर नेपालतर्फ ८१ किलोमिटर लम्बाइको छ । नहरका नौ वितरण र ८७ अरू संरचनामार्फत पर्सा, बारा र रौतहटमा सिँचाइ गर्ने गरिन्छ ।

सम्झौताअनुसार तीन जिल्लाको ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिँचाइ हुनुपर्ने हो । हाल २८ हजार हेक्टर क्षेत्रफल मात्र सिञ्चित हुने गरेको कार्यालय प्रमुख पटेलले बताए ।