बागलुङ । लोकप्रिय गायिका समीक्षा अधिकारीले पुसको जाडोमा दर्शकलाई तताएकी छन् । बागलुङ महोत्सवमा गुञ्जिएकी उनले आफ्नो प्रस्तुतिमार्फत माहोल तताएकी हुन् ।
अधिकारीका चर्चित गीतमा दर्शक झुमेका थिए । उनीसँगै स्वरमा स्वर मिलाएर महोत्सवलाई सङ्गीतमय बनाउन सफल भइन् । उनले ‘मुटुमै बसेछ…’ गीतमार्फत मञ्चमा प्रवेश गरेकी अधिकारीले ‘हावा चिसोचिसो…’ बाट आफ्नो प्रस्तुतिलाई बिट मारिन् ।
अधिकारीले ‘शिरमा शिरबन्दी…’, ‘दुस्मन हेरेको हेरै…’, ‘बुझिन मैले…’, ‘सूर्ती माड्दामाडदै…’, ‘कुरा बुझ्न पर्छ…’, ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ लगायतका गीत सुनाइन् ।
पछिल्लो समयकी सफल गायिका अधिकारीलाई बागलुङ उद्योग वाणिज्य संघले दर्शकसँग भेट गराएको हो । उनको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए । अधिकारीको गायकीमा कोही मन्त्रमुग्ध देखिन्थे भने कोही नाचेर साथ दिइरहेका थिए ।
प्रस्तुतिका क्रममा अधिकारीले बागलुङसँगको आफ्नो सामीप्यता र साङ्गीतिक यात्राबारे दर्शकमाझ आफ्नो अनुभव साझा गरिन् । उनी अहिले देशविदेशका कार्यक्रममा व्यस्त छिन् ।
शुक्रबार विराटनगरको कार्यक्रम भ्याएर बागलुङ महोत्सवमा आएकी अधिकारी सोमबार जापान जाँदै छिन् । जापानमा बागलुङको गलकोटबाट जापान पुगेकाहरूले जन्माएको संस्था गलकोट समाज, जापानद्वारा आयोजित अङ्ग्रेजी नयाँवर्ष विशेष साङ्गीतिक कार्यक्रममा अधिकारीले प्रस्तुति दिँदैछिन् ।











प्रतिक्रिया