मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   
मुख्य समाचार   

नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी काठमाडौँमा सुरू

नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी काठमाडौँमा सुरू


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा शनिबारदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरू भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरू भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले उद्घाटन गरे ।
कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक दुई देशका जनताबीचको अन्तरहृदय जोड्ने बताए । उनले भने, “यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभई दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र आत्मिय बनाउन मद्दत गर्नेछ ।”
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक तथा कूटनीति सम्बन्ध प्रगाढ बनाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभइ एकताबद्ध गर्ने एउटा पुलका रूपमा भएको धारणा राखे ।
चीनका राजदूत सोङले नेपाल–चीनसम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताए । उनले दुई देशका कलाकारलाई एउटै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
प्रदर्शनीमा कुलपति हार्तम्छालीसहित पूर्वकुलपतिहरू किरण मानन्धर, केके कर्माचार्य, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङ्माङलगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । यस्तै चिनियाँ कलाकारका कलाकृति पनि समावेश गरिएको छ ।
नेपाली कलाकारका ४४ र चिनियाँ कलाकारका ६० कलाकृति प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनीमा १५ जना चिनियाँ कलाकारसमेत सहभागी भएका प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए । सो क्रममा चिनियाँ कलाकारले प्रत्यक्ष रूपमा भएको कला कार्यशालामा आफ्नो प्रस्तुति दिएका छन् । प्रदर्शनी यही साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

शेयर गर्नुहोस:

81
Shares