टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ ।
केर काउन्टीका शेरिफ ल्यारी लेइथाले भने, “अहिले हामीले २५ जनाको मृत शरिरलाई बाढीको पानी र हिलोभन्दा बाहिर ल्याइसकेका छौँ ।”
सो बाढीमा परी हालसम्म २५ जनाको मृत्यु भइसकेको छ भने ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् ।
केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाएअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ ।
टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उनले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट (करिब ८ मिटर)ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जना अझै सम्पर्कविहीन अवस्थामा छन् ।
शिविरका प्रमुखले पठाएको सन्देशअनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। करिब ५०० सुरक्षाकर्मी र १४ वटा हेलिकप्टरले उद्धारकार्यमा सहयोग गरेका थिए । उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।
टेक्सासका सैन्य अधिकारी मेजर जनरल थोमस सुएल्जरले पत्रकारलाई आपतकालीन कर्मचारीले कम्तीमा २३७ जनालाई उद्धार गरेको र १६७ जनालाई हेलिकप्टरको प्रयोग गरेर उद्धार गरिएको जानकारी दिए । स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् ।
विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् । एएफपी
प्रतिक्रिया