लुइभिल, केन्टकी । हिमालयन तेक्वान्दो लुइभिल केन्टकीको आयोजनामा प्रथम अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायका एक सयभन्दा बढी विद्यार्थीले विभिन्न समूहमा प्रतिस्पर्धा गरेका थिए ।
स्टेट रिप्रेजेन्टेटिभ डेनियल ग्रोसवर्गले प्रतिस्पर्धी विद्यार्थी, रेफ्री, कोच तथा अभिभावकहरुलाई सम्बोधन गर्ने क्रममा आफूले पनि सानो हुँदा तेक्वान्दो खेलेको प्रसङ्ग सुनाउँदै आत्मरक्षा, स्वास्थ र अनुशासनका लागि तेक्वान्दो खेलको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले लुइभिलमा तेक्वान्दो विद्यालय सञ्चालन तथा प्रतिस्पर्धा आयोजना गरेकोमा हिमालयन तेक्वान्दोका सिइओ कल्पना तिवारीलाई धन्यवादसमेत ज्ञापन गरेका थिए ।
सम्बोधनका क्रममा हिमालयन तेक्वान्दो ह्यारिसवर्गका प्रमुख नकुल शर्माले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका विद्यार्थीहरु तेक्वान्दोप्रति आकर्षित हुँदै गएकोमा विद्यार्थी तथा सहयोग पुर्याउने अभिभावकप्रति आभार व्यक्त गरेका थिए । नकुल शर्मा अमेरिकामा नेपाली मूलबाट तेक्वान्दो विद्यालय सञ्चालन पहिलो व्यक्ति हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने हिमालय तेक्वान्दो लुइभिलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कल्पना तिवारीले कार्यक्रम सम्पन्न आयोजना गर्न सहयोग गर्ने अभिभावक तथा प्रायोजकहरुप्रति आभार व्यक्त गरे । हिमालयन तेक्वान्दो स्कुल लुइभिलमा हाल दुई सय बढी विद्यार्थी रहेका छन् ।
कार्यक्रममा विजेता खेलाडीहरुलाई शिल्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न स्टेटबाट रेफ्रीहरु सहभागी भएका थिए । कार्यक्रमलाई फ्रिडम एडल्ट डे हेल्थ केयर, हेल्दी लिभिङ प्राइमरी केयर र आफ्टन फार्मेसीले प्रायोजन गरेका थिए । अतिथिहरुलाई हिमालयन तेक्वान्दो लुइभिलका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम मित्र सुवेदीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया