काठमाडौँ । सांसद वामदेव गौतमले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा कमजोरी रहेको बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी गरेको प्रस्तावमाथि छलफलका क्रममा गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गरे ।
“नीति तथा कार्यक्रमले भ्रष्टाचार उन्मुलन गर्ने किसिमको योजना ल्याउन सकेन, आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन”, उनले भने, “संविधानले मार्गदर्शन गरेको समाजवादभन्दा अन्य व्यवस्थामा जान सकिँदैन । समाजवादउन्मुख नीति तथा कार्यक्रम हुनुपर्थ्यो ।”
सांसद शारदादेवी भट्टले नीति तथा कार्यक्रममा व्यावसायिक जोखिम बीमा ल्याउने विषय समेटिनु स्वागतयोग्य भएको टिप्पणी गरे। “ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार गर्ने, १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार नि:शुल्क गर्ने, महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने, महिला सबलीकरणमा ध्यान दिने नीति स्वागतयोग्य छ,” उनले भने, “सीमा सुरक्षासम्बन्धी कार्यक्रमलाई तीव्रता दिनु राम्रो नीति हो । अब प्रभावकारी कार्यान्वयनको खाँचो छ ।”
सांसद जगप्रसाद शर्माले आयात बढिरहेको उल्लेख गर्दै निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिए । “आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकतालाई सही रूपमा सम्बोधन गर्न सक्दैन”, उनले भने, “सुशासन, समृद्धि र सामाजिक न्यायको योजनालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेन ।”
प्रतिक्रिया