विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइसकेको बताएका छन् ।
विरोटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधानको परिमार्जन र संशोधनका निम्ति गम्भीर छलफलको आवश्यकता रहेको उल्लेख गर्दै सरकारले संविधान संशोधनका लागि आवश्यक छलफल गर्नुपर्ने बताए ।
उनले शासकीय स्वरुप नै अहिलेको अस्थिरताको कारक भएको चर्चा गर्दै अहिलेको व्यवस्थासँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय भएको बताए ।
सरकारले सेवा प्रवाह उचित ढंगले गर्न नसकेका कारण दल र नेताहरुप्रति जनताको निराशा बढेको उनको भनाइ थियो । सरकार जनताको आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्ने उनले सुझाव दिए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुँजी निर्माण गरी आर्थिक विकास गर्नका लागि प्रदेश सरकारले केही दिनमै लगानी सम्मेलन गर्न लागेको जानकारी दिए ।
उनले लगानी सम्मेलनबाट प्रदेशमा उल्लेखनीय आर्थिक गतिविधि हुन सक्ने अनुमान र सम्भावना रहेको भन्दै प्रदेश सरकारले यस वर्षलाई घोषणा गरेको ‘पर्यटन वर्ष–२०८२’ बाट प्रदेशमा आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।
प्रतिक्रिया