मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

एम्बुलेन्स खरिदमा भ्रष्टाचारको आरोप, मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी !

एम्बुलेन्स खरिदमा भ्रष्टाचारको आरोप, मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी !


शेयर गर्नुहोस:

459
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा मेयर बालेन्द्र शाह (बालेन)सहित सम्बन्धित अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मेयर शाहको प्रत्यक्ष निर्देशनमा सम्पन्न भनिएको एम्बुलेन्स खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको दाबी गर्दै दर्ता नम्बर सी–०४०५६९ अन्तर्गत उजुरी दर्ता गरिएको हो । उजुरीमा बालेनका स्वकीय सचिव भूपदेव साह तथा खरिद प्रक्रियामा संलग्न कर्मचारीहरूमाथि पनि कारबाहीको माग गरिएको छ।

Advertisement

उजुरीअनुसार, मेयर बालेनको निर्देशनमा भूपदेव साहको नेतृत्वमा पश्चिम नेपालका गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम सुरू गरिएको थियो । उक्त योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर्न लागिएकोमा, स्पेसिफिकेसन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिएको आरोप छ ।

भूपदेव साहले एम्बुलेन्स आपूर्ति गर्ने ठेकेदार कम्पनीसँग २१ मोडलको स्कर्पियो गाडी घूसस्वरूप लिने सहमति गरेको र सोही अनुसार खरिद प्रक्रिया अघि बढाइएको उल्लेख छ ।

बोलपत्र दस्तावेजअनुसार सामग्री आएपछि मात्र भुक्तानी हुने प्रावधान रहे पनि, कम्पनीले सुरूमै भुक्तानीको सर्त राखेको र महानगरले त्यसलाई स्वीकार गरेर सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५२ (क) विपरीत कार्य गरेको दाबी उजुरीमा गरिएको छ ।

यस्तै, ललितपुर महानगरपालिकाबाट काठमाडौँ सरूवा भएका रामरतन शाहलाई खरिद इकाइ प्रमुख बनाउने क्रममा ठेकेदारहरूले तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारलाई घूस दिएको आरोप पनि उजुरीमा समावेश छ । रामरतन शाहले स्कर्पियो गाडी घूसस्वरूप लिने सर्तमा मूल्याङ्कन प्रक्रिया फेरि दोहोर्‍याएर एक करोड २५ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुर्‍याएको आरोप लगाइएको छ।

उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (क) र ९ अनुसार कानुनी कारबाहीको माग गर्दै मूल्याङ्कन समितिमा संलग्न सदस्यहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन् ।

योजनाअनुसार, आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स खरिद गरी विभिन्न गाउँपालिकाहरूलाई सहयोग गर्ने घोषणा गरेको थियो ।

शेयर गर्नुहोस:

459
Shares